हाइटेन्सन लाइनको करेन्ट लागेर ६ वर्षीया बालिका गम्भीर घाइते, उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ रिफर
186 पटक पढिएको
धादिङ, १० जेठ । धादिङको नीलकण्ठ नगरपालिका–४ रायटारमा हाइटेन्सन विद्युत प्रसारण लाइनबाट करेन्ट लाग्दा एक बालिका गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा नीलकण्ठ नगरपालिका–८ की ६ वर्षीया बालिका साया श्रेष्ठ रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार आइतबार दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा बालिकालाई करेन्ट लागेको हो। खेल्ने क्रममा बालिकाले बोकेको भुईँ पुछ्ने पोछा (मप) झुक्किएर नजिकै रहेको हाइटेन्सन लाइनमा ठोकिन पुगेको थियो। पोछाको डन्डीमा रहेको फलामको तारमार्फत विद्युत प्रवाह हुँदा बालिकाको शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनालगत्तै उनलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि धादिङ अस्पताल पुर्याइएको थियो। बालिकाको अवस्था गम्भीर देखिएपछि र शरीरको धेरै भाग जलेकाले अस्पतालले तत्कालै काठमाडौँ रिफर गरेको थियो।
सडक मार्गबाट लैजान ढिलो हुने र बालिकाको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौँ पठाइएको हो। हाल उनको काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।
बस्ती नजिकैबाट गएको उच्च क्षमताको विद्युत प्रसारण लाइनका कारण समय–समयमा यस्ता दुर्घटना हुने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।







