सिद्धलेकका अध्यक्षको अनियमितता सार्वजनिक भएपछि पत्रकारलाई धम्की: ‘भिडियो नहटाए सिध्याइदिने’ चेतावनी
372 पटक पढिएको
धादिङ, ११ जेठ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको आर्थिक अनियमितता सम्बन्धी समाचार र भिडियो सार्वजनिक गरेपछि ज्यान मार्ने धम्की पाएका पत्रकार केशव अधिकारीले कानुनी उपचारको प्रक्रिया अगाडि बढाएका छन्। कायरतापूर्वक धम्की दिने व्यक्तिको पहिचान गरी निज र सो कार्य गर्न लगाउने मुख्य योजनाकारलाई समेत कारबाहीको माग गर्दै अधिकारीले नेपाल प्रहरीको साइबर ब्यूरो र स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका हुन्।
धादिङ न्यूज डटकमका प्रधानसम्पादक समेत रहेका अधिकारीले काठमाडौँस्थित साइबर ब्यूरोमा उजुरी दिँदै डिजिटल माध्यमबाट त्रास फैलाउने र ज्यान लिने धम्की दिने उपर कडा अनुसन्धानको माग गरेका छन्। त्यसैगरी, उनले जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला प्रशासन कार्यालय धादिङ मा समेत छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन्। उजुरीमा आफ्नो र परिवारको जिउज्यानको सुरक्षाको ग्यारेन्टी गर्दै अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ।
अधिकारीको ह्वाट्सएपमा +९७१ ५२ ९७७ १८५५ (संयुक्त अरब इमिरेट्स) बाट प्राप्त सन्देशमा समाचार र भिडियो डिलिट नगरे “परिणाम राम्रो नहुने” र “परिवारमा तलमाथि भए आफैँ जिम्मेवार हुनुपर्ने” भन्दै धम्क्याइएको छ। “Bishnoi guys” नामको प्रोफाइलबाट आएको उक्त सन्देशमा भनिएको छ- “जिन्दगीमा एउटा गल्तीले गर्दा संसार नै भताभुङ्ग हुन सक्छ।”
सिद्धलेक गाउँपालिकाले खरिदका लागि अरुलाई कोटेशन पेश गर्न नदिन अध्यक्ष खतिवडाले कर्मचारीलाई दवाव दिन आंफुले भनेको नमाने कर्मचारीको गाला पडकाउने र झोला बोकाएर घर पठाउने धम्की दिएका थिए । यसरी धम्की दिनुमा आमा समूहलाई बितरण गर्न पालसायर टेण्ट र बिद्यार्थीका लागि पाठ्यपुस्तक बोक्ने झोला खरिद गर्न छु्ट्टयाईएको ३१ लाख रुपैयाँ बजेटको योजना आंफुले भने जसरी अघि बढाउन कर्मचारीलाई चेतावनी दिएका थिए । सोही धम्कीपूर्ण वोली रहेको भिडियो सार्वजनिक भएपछि अध्यक्ष खतिवडाको दिएको भिडियो सहितको समाचार जेठ ६ गते सार्वजनिक भएपछि अध्यक्ष खतिवडा निकट व्यक्तिले छद्मनामबाट धम्की दिएका हुन ।
अध्यक्ष खतिवडाले आफ्नै दाजु सीताराम खतिवडाको सगरमाथा टेन्ट बाट सामान खरिद गर्न कर्मचारीलाई दबाब दिएको रहस्य खुलेको छ ।
समाचारमा चित्त नबुझे कानुनी उपचारमा जाने बाटो हुँदाहुँदै भिडियो हटाउन दबाब दिनु र अपरिचित व्यक्तिमार्फत धम्की दिनुले अध्यक्षबाटै गलत काम भएको पुष्टि हुने धादिङ न्यूजको ठहर छ।
यता नेपाल पत्रकार महासंघ धादिङ शाखाले पनि यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै घोर भर्त्सना गरेको छ। महासंघले दोषीलाई उम्काउने प्रयास गरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिइसकेको छ। प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान अघि नबढाए पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाका लागि देशव्यापी दबाब सिर्जना गर्ने तयारी समेत गरिएको छ।








