हावाहुरीले सिद्देश्वर माविको छाना उडाउँदा ३ लाखको क्षति

273 पटक पढिएको

१२ जेष्ठ २०८३, मंगलवार ११:०० सम्पादक: धादिङ न्यूज

धादिङ, १२ जेठ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ मा रहेको सिद्देश्वर माध्यमिक विद्यालयमा सोमबार साँझ आएको हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ।

सोमबार साँझ ५ बजेपछि आएको तीव्र गतिको हावाहुरीले विद्यालयको  पक्की भवनको छतमा रहेको सम्पूर्ण जस्तापाता उडाएर क्षतिग्रस्त बनाएको हो। छाना उडाउँदा विद्यालयको भौतिक संरचनामा मात्रै करिब ३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको विद्यालयका प्रधानाध्यापक हरि बहादुर सिलवालले जानकारी दिनुभयो।

भवनको छाना पूर्ण रूपमा उडेपछि र कक्षाकोठाहरू असुरक्षित बनेपछि विद्यालयको नियमित पठनपाठन प्रभावित भएको छ। आकस्मिक रूपमा आइपरेको यो प्राकृतिक विपत्तिका कारण बालबालिकाहरूको पठनपाठनलाई कसरी निरन्तरता दिने भन्ने विषयमा विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकहरू चिन्तित बनेका छन्।

सोमबार साँझको हुरीबतासले सिद्धलेकमा मात्र नभई धादिङ जिल्लाका विभिन्न स्थानमा समेत व्यापक क्षति पुर्‍याएको समाचार छ। हुरीले ग्रामीण क्षेत्रका कतिपय घर र गोठका छानाहरू उडाउनुका साथै स्थानीय किसानहरूले लगाएको मकै बाली र  फलफूल (विशेषगरी आँप, लीची र केरा) मा ठुलो नोक्सानी पुर्‍याएको छ।

भर्खरै हुर्कँदै गरेको मकै बाली हावाहुरीले ढालेर सखाप पारेपछि र फलफूल नष्ट गरेपछि जिल्लाका किसानहरू ठुलो आर्थिक मारमा परेका छन्।

साँझको समयमा हावाहुरी आएकाले मानवीय क्षति हुनबाट जोगिए पनि विद्यालय र कृषि क्षेत्रमा भएको नोक्सानीले स्थानीय त्रसित बनेका छन्। स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले विद्यालयको छाना तत्काल पुनर्निर्माण गरी पठनपाठन सुचारु गर्न तथा प्रभावित किसानहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन्।