जेनजी आन्दोलनमा हिंसा भड्काएको आरोप: पूर्वसचिव र रास्वपा नेतासहित ५० जनामाथि अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिस, बालेनलाई ‘क्लीन चिट’

167 पटक पढिएको

१३ जेष्ठ २०८३, बुधबार १९:४१ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै पूर्वसचिवदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का थुप्रै नेता तथा सामाजिक अभियन्ताहरूलाई अनुसन्धानको दायरामा राखेको छ । आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा व्यवसायी दुर्गा प्रसाईं, बहालवाला सांसदहरू र चर्चित कलाकारहरूसहित ५० भन्दा बढी व्यक्तिहरूमाथि सुक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको हो । प्रदर्शनका क्रममा सामाजिक सञ्जालमा लेखिएका स्टाटस र सार्वजनिक अभिव्यक्तिहरूलाई मुख्य आधार बनाएर अनुसन्धानको दायरामा तानिए पनि फेसबुकमार्फत ऐक्यवद्धता जनाएका प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले भने क्लीन चिट पाएका छन् ।

आयोगको प्रतिवेदनको ‘तथ्य र विश्लेषण’ खण्डमा उल्लेख भएअनुसार अनुसन्धानको सूचीमा परेका व्यक्तिहरूले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात् सामाजिक सञ्जाल तथा सार्वजनिक सञ्चारमाध्यममार्फत दिएका अभिव्यक्तिहरूले जनमानसलाई आक्रोशित बनाएको र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको देखिएको छ । अधिकांशलाई उनीहरूले जेनजी आन्दोलनको समर्थनमा लेखेका फेसबुक स्टाटसहरूको आधारमा दोषीको आशंका गरिएको भए पनि सोही प्रकृतिको स्टाटस लेखेका बालेन्द्रको नाम भने प्रतिवेदनमा समावेश छैन । राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन र सम्बन्धित व्यक्तिहरूको सामाजिक सञ्जालका गतिविधिको अध्ययन गर्दै आयोगले भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे-नरहेको र सार्वजनिक शान्ति भंग गर्न दुरुत्साहन भए-नभएको बारे थप अनुसन्धान हुन आवश्यक रहेको ठहर गरेको छ ।

आयोगले सम्बन्धित व्यक्तिहरूको ‘स्वच्छ सुनुवाइको हक’ सुनिश्चित गर्दै कानुनी प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । अनुसन्धानको घेरामा परेकाहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ्ग, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, सुशिला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह र निशान मैनाली रहेका छन् ।

तस्बिर: एआई