धार्मिक सहिष्णुता र त्यागको प्रतीक ‘बकर ईद’ आज, देशभर सार्वजनिक बिदा

195 पटक पढिएको

१४ जेष्ठ २०८३, बिहीबार ०७:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व इदुज्जुहा अर्थात् बकर ईद आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहिआएको छ । यस विशेष दिनमा मुस्लिम धर्मावलम्बीहरूले बिहानै स्नान गरी नयाँ कपडा लगाएर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढ्ने गर्दछन् । नमाज सम्पन्न भएपछि उनीहरूले एकापसमा अङ्कमाल गर्दै ईद मुबारकको शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यसै अवसरमा राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा बिहानैदेखि हजयात्री तथा भक्तजनहरूको ठूलो भीड लागेको छ ।

नेपाली समाजमा धार्मिक सहिष्णुता र आपसी भाइचाराको प्रतीक मानिने यस पर्वको आफ्नै ऐतिहासिक एवं धार्मिक पृष्ठभूमि छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको कथन छ । ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई यस परम्परालाई निरन्तरता दिएको धार्मिक इतिहासमा उल्लेख छ ।

धार्मिक मान्यताअनुसार अल्लाहका दूत इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेका प्यारा छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश सपनामा प्राप्त गरेका थिए । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत माग्ने क्रममा सन्तान सुख पाएमा अल्लाहकै राहमा कुर्बानी गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरूप अल्लाहले उनको भक्ति र निष्ठाको परीक्षा लिन सपनामा कुर्बानीको आदेश दिएका हुन् । उनले सुरुमा धेरै जनावर कुर्बानी गरे पनि अल्लाह खुसी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । जब उनले छोराको आँखामा पट्टी बाँधेर कुर्बानी गर्न लागे, उनको परीक्षा सफल साबित भयो र अल्लाहको कृपाले कुर्बानी गर्ने स्थानमा छोराको सट्टा स्वर्गबाट पठाइएको दुम्बाको कुर्बानी हुन पुग्यो । यसरी परीक्षामा सफल भएको र अल्लाह प्रसन्न भएको सोही ऐतिहासिक घटनाको सम्झनामा अहिलेसम्म कुर्बानी गर्ने प्रचलन कायम रहेको मुस्लिम अगुवाहरूको भनाइ छ ।

बकर ईदको अवसरमा मक्का मदिनाको यात्रा अर्थात् हज गर्नुलाई अत्यन्तै शुभ र महत्त्वपूर्ण मानिन्छ । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रासँग जोडिएको छ । मक्का मदिना जानका लागि नेपाल सरकार गृह मन्त्रालयले समेत हज कमिटीमार्फत आतेजाते विमान टिकट र अन्य आवश्यक व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । विभिन्न कारणवश मक्का मदिना जान नपाउने हजयात्रीहरूले भने आफ्नै घरघरमा बकर ईद मनाउने गर्दछन् । यस पर्वमा अल्लाहलाई खुसी पार्नका लागि मुस्लिम धर्मावलम्बीहरूले धर्मले जायज मानेका जनावरहरूको कुर्बानी दिने गर्दछन् । कुर्बानी गरिएको मासुलाई धार्मिक मान्यताअनुसार तीन भागमा विभाजन गरिन्छ, जसमध्ये एक भाग गरिब, अनाथ एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्र तथा नातेदारलाई र बाँकी तेस्रो भाग आफ्नै परिवारका लागि राख्नुपर्ने नियम छ । यसरी समाजका सबै वर्ग र समुदायमा खुसी साटासाट गरिने यस चाडको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

तस्बिर : एआई