चेपाङ समुदायलाई आत्मनिर्भर बनाइँदै: ७५ परिवारलाई आधुनिक घार सहित मौरीपालन तालिम

151 पटक पढिएको

१४ जेष्ठ २०८३, बिहीबार २२:०४ सम्पादक: धादिङ न्यूज

धादिङ, १४ जेठ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका सीमान्तकृत चेपाङ समुदायलाई आत्मनिर्भर र उद्यमशील बनाउन आधुनिक मौरीपालन तालिम दिइएको छ। अस्ट्रेलियन एडको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा सञ्चालित ‘हरित उद्यम प्रवर्धन परियोजना’ अन्तर्गत ३ वटा वडाका ७५ परिवारलाई तीन दिने आवासीय तालिम प्रदान गरिएको हो।

गाउँपालिकाको वडा नं. ८, ९ र १० का विपन्न चेपाङ परिवारलाई स्थानीय चैलिङ होमस्टेमा तीन चरणमा विभाजन गरेर व्यावसायिक मौरीपालनको व्यावहारिक ज्ञान र आधुनिक प्रविधिको प्रयोगबारे सिकाइएको थियो। तालिमको पहिलो चरणमा वडा नं. ८ का २६ जना, दोस्रो चरणमा वडा नं. १० का २४ जना र तेस्रो चरणमा वडा नं. ९ का २५ जना गरी कुल ७५ जनाको सहभागिता रहेको थियो।

तालिमको मुख्य प्रशिक्षण मौरी पालनका विज्ञ केशव अर्याल “मौरी बाजे” ले दिनुभएको थियो। उहाँले सहभागीहरूलाई मौरी पालनको आधारभूत सीप र आधुनिक प्रविधिका बारेमा व्यावहारिक रूपमै फिल्ड भिजिट गराएर सिकाउनुभएको थियो। यस्तै, फोकस नेपालका कार्यकारी निर्देशक एकराज छतकुली र कार्यक्रम संयोजक उमेश कंडेलले प्रविधि हस्तान्तरण तथा उद्यमशीलताको पाटोमा सहजीकरण गर्नुभएको थियो।

तालिम सकिएलगत्तै तीनवटै वडामा व्यावसायिक कार्यलाई व्यवस्थित गर्न ‘मौरीपालक कृषि समूह’ समेत गठन गरिएको छ। व्यावसायिक सुरुवातका लागि फोकस नेपालले सहभागीहरूलाई ७५ थान आधुनिक मौरीघार र आवश्यक प्राविधिक उपकरण हस्तान्तरण गरेको छ।

स्थानीय जनप्रतिनिधि तथा सहकारीका प्रतिनिधिहरूको उपस्थितिमा भएको सामग्री हस्तान्तरण कार्यक्रमपछि संस्थाले उत्पादित महको ब्रान्डिङ र बजारीकरणमा सहयोग गर्ने जनाएको छ। यसबाट चेपाङ समुदायको आर्थिक अवस्था सुदृढ हुने र स्थानीय स्रोतको सदुपयोग हुने अपेक्षा गरिएको छ।