धादिङ पत्रकार महासंघको साधारणसभा: जीवित संस्थापक सम्मानित, स्वर्गीय शाहको शालिक अनावरण

194 पटक पढिएको

२० जेष्ठ २०८३, बुधबार १८:१६ सम्पादक: धादिङ न्यूज

धादिङवेशी । नेपाल पत्रकार महासंघ धादिङ शाखाको २४ औँ साधारणसभा बुधबार जिल्ला शाखाको सभाहलमा  सम्पन्न भएको छ। साधारणसभाका अवसरमा सञ्चार क्षेत्रका समसामयिक चुनौतीबारे सघन विमर्श गरिनुका साथै महासंघका संस्थापक सचिव स्वर्गीय राजेन्द्र प्रताप शाहको अर्धकदको शालिक अनावरण र जीवित संस्थापकहरूलाई विशेष सम्मान गरिएको छ।

शाखा अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (धादिङ क्षेत्र नं. २) माननीय बोधनारायण श्रेष्ठले सामाजिक सञ्जालको तीव्र प्रभावका कारण सूचना प्रवाहको स्वरूप बद्लिए पनि तथ्यमा आधारित व्यवसायिक सञ्चारमाध्यमको भूमिका अझ सशक्त र अपरिहार्य बन्दै गएको बताउनुभयो। “पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गर्न सकेमात्र पत्रकारिताप्रतिको जनविश्वास कायम रहन्छ,” सांसद श्रेष्ठले भन्नुभयो, “अस्तित्व जोगाउन पत्रकारहरू प्रविधिमैत्री बन्दै खोजी पत्रकारितामा लाग्नुपर्छ।” उहाँले सरकारको विज्ञापन नीतिका विषयमा भने सरकार गठन भएको कम्तीमा १०० दिनपछि मात्रै आधिकारिक प्रतिक्रिया दिन सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष नितु पण्डितले राज्यले विभिन्न कानुन तथा सरकारी परिपत्रमार्फत सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो। महासंघले प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आन्दोलन गरिरहेको उल्लेख गर्दै  अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई थप मजबुत बनाउन सुझाव  दिनुभयो। त्यस्तै, केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकारी नीतिका कारण आम सञ्चारमाध्यम गम्भीर संकटमा परेको बताउँदै मिडिया विरोधी कानुन रोक्न र पत्रकारको पेशागत संरक्षणका लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभयो।

साधारणसभाकै अवसरमा महासंघको कार्यालय परिसरमा स्थापना गरिएको संस्थापक सचिव एवं पूर्वअध्यक्ष स्वर्गीय राजेन्द्र प्रताप शाहको अर्धकदको शालिक संयुक्त रूपमा अनावरण गरियो। प्रमुख अतिथि सांसद श्रेष्ठ र केन्द्रीय उपाध्यक्ष पण्डितले शालिकको अनावरण गर्नुभएको हो। शालिक अनावरण कार्यक्रममा स्वर्गीय शाहकी धर्मपत्नी ईश्वरी मल्ल र आफन्तहरूको पनि उपस्थिति थियो। शाहको योगदान स्मरण गर्दै सांसद श्रेष्ठले भन्नुभयो- “उहाँले पत्रकारिताका साथै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ, उहाँको निष्ठा र स्वाभिमानलाई जोगाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ ।” धादिङको ज्वालामुखी गाउँपालिका–३ मैदीमा जन्मिनुभएका शाहको २०७८ चैत ३ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो। उहाँ साविक मैदी गाविसका पूर्वउपाध्यक्ष, जिविस सदस्य, प्रेस युनियनका पूर्वसचिव र कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्यो। संस्थापक सभापति वर्माको यस अघिनै महासंघ परिसरमा शालिक राखिएको थियो ।

संस्थापक अध्यक्ष वर्मा र सचिव  शाहको निधन भइसकेकाले महासंघले यसपटक जीवित रहेका अन्य संस्थापकहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित विशेष सम्मान गरेको छ। सम्मानित हुनेहरूमा संस्थापक उपसभापति बाशुदेव तिमिल्सिना, संस्थापक कोषाध्यक्ष लक्ष्मी कट्टेल तथा संस्थापक सदस्यहरू मोहनकुमार श्रेष्ठ, नविनबन्धु पहाडी र उत्तमराज कँडेल हुनुहुन्छ।

यसअघि साधारणसभाको बन्दसत्रमा शाखाका सचिव सन्तोषराज श्रेष्ठले वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बद्री अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। शाखा अध्यक्ष सीताराम अधिकारीले सीमित स्रोतसाधनका बाबजुद धादिङ शाखाले संस्थागत सुदृढीकरण र प्रेस स्वतन्त्रताको रक्षाका लागि नेतृत्वदायी भूमिका खेलिरहेको र आगामी दिनमा पनि पत्रकार हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारी, प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, र प्रेस सेन्टर धादिङका अध्यक्ष निर तामाङ लगायतले नेपाली पत्रकारिता मर्यादित बाटोबाट विचलित हुन नहुनेमा जोड दिँदै साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनिष दुवाडीले राख्नुभएको थियो भने सञ्चालन सचिव सन्तोषराज श्रेष्ठले गर्नुभएको थियो।