विश्वकप फुटबल २०२६: घरेलु मैदानमा अमेरिकाको धमाकेदार सुरुवात, पाराग्वे ४–१ गोल अन्तरले पराजित
153 पटक पढिएको
काठमाडौँ, ३० जेठ । फिफा विश्वकप फुटबल २०२६ को सह-आयोजक राष्ट्र अमेरिकाले प्रतियोगितामा विजयी सुरुआत गर्दै शानदार प्रदर्शन गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान सम्पन्न समूह ‘डी’ को उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो। यो जितसँगै महत्वपूर्ण ३ अङ्क जोड्दै अमेरिका आफ्नो समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ।
खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रणनीति अपनाएको अमेरिकाले सातौँ मिनेटमा आत्मघाती गोलको मद्दतले खेलमा पहिलो अग्रता बनाएको थियो। अमेरिकाका वेस्टन म्याकेनीले प्रहार गरेको बललाई रोक्ने प्रयास गर्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाबाट आत्मघाती गोल हुन पुगेको थियो। त्यसपछि खेलको ३१औँ मिनेटमा फोलारिन बालोगुनले आकर्षक गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले नै व्यक्तिगत दोस्रो गोल थपेपछि अमेरिका पहिलो हाफमै ३–० को बलियो स्थितिमा पुग्यो।
दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने केही प्रयास गर्यो। खेलको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए पनि त्यो टोलीको हार टार्न पर्याप्त भएन। खेलको अन्तिम समय अर्थात् दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले उत्कृष्ट गोल गरेपछि घरेलु टोलीले ४–१ को सुनिश्चित जित हासिल गर्यो। अमेरिका र पाराग्वे रहेको यस समूह ‘डी’ मा अस्ट्रेलिया र टर्की समेत सामेल छन्। यसअघि आजै भएको समूह ‘बी’ को खेलमा अर्को आयोजक राष्ट्र क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका थिए।








https://shorturl.fm/ejINW