गणित शिक्षा परिषद् धादिङको पाँचौँ अधिवेशन सम्पन्न: उत्तम भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

176 पटक पढिएको

३० जेष्ठ २०८३, शनिबार २१:३१ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, ३० जेठ । गणित शिक्षा परिषद्  धादिङको पाँचौँ जिल्ला अधिवेशन जेठ ३० गते शनिबार सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि उत्तम भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

निवर्तमान जिल्ला अध्यक्ष प्रयास रेग्मीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाल नगरपालिका महासंघका केन्द्रीय अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रप्रसाद ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले पछिल्लो समय विद्यार्थीहरूमा गणित विषयप्रतिको रुचि घट्दै गइरहेको अवस्थामा व्यावहारिक र प्रविधिमैत्री शिक्षण विधिको आवश्यकता औँल्याउनुभयो। उहाँले गणित शिक्षालाई सरल र जीवनोपयोगी बनाउन स्थानीय सरकारले शैक्षिक संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रमका विशेष अतिथि एवं गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष रमेशप्रसाद अवस्थीले गणित केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई तार्किक क्षमता विकास गर्ने मेरुदण्ड भएको बताउनुभयो। उहाँले शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धिका लागि परिषद्ले देशभरि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा विज्ञान शिक्षक समाज धादिङ र नेल्टा  धादिङका अध्यक्षहरू लगायत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा गणित विषय अध्यापन गराउने शिक्षक, प्राध्यापक र गणितप्रेमीहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

अधिवेशनको बन्द सत्रबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा प्रकाश भण्डारी, सहसचिवमा रमेश गुरुङ र कोषाध्यक्षमा अनुप कोइराला चयन हुनुभएको छ। त्यसैगरी परिषद्को सदस्यहरूमा कृष्णनारायण श्रेष्ठ, चित्रबहादुर गुरुङ, राधिका सिंखडा, सोमनाथ पाठक, किरण गुरुङ र नारायण सुवेदी निर्वाचित हुनुभएको छ।

पदभार ग्रहण गरेलगतै नवनिर्वाचित अध्यक्ष उत्तम भट्टले गणित विषयलाई विद्यार्थीमाझ थप आकर्षक र प्रयोगात्मक बनाउन नयाँ समिति क्रियाशील रहने बताउनुभयो। उहाँले जिल्लाभरिका गणित शिक्षकहरूको पेसागत हकहित र क्षमता विकासका लागि तालिम तथा कार्यशालाहरू सञ्चालन गरिने उल्लेख गर्नुभयो।

नयाँ कार्यसमितिले विद्यालय स्तरमा देखिने गणित विषयप्रतिको डर लाई न्यूनीकरण गर्दै विद्यार्थीहरूमा तार्किक र गणितीय रुचि बढाउन विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरू आयोजना गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेको छ।