अपरिचित नम्बरबाट आउने शंकास्पद एसएमएस र लिंकप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

232 पटक पढिएको

३ असार २०८३, बुधबार ०६:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरहरूबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश (एसएमएस) र लिंकप्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार र व्हाट्सएप जस्ता लोकप्रिय ओभर द टप  एपहरू प्रयोग गरी प्रयोगकर्ताको मोबाइलमा फिसिङ्ग लिंकसहितका निर्देशनात्मक सन्देशहरू पठाउने क्रम बढेको भन्दै गुनासोहरू प्राप्त भएपछि प्राधिकरणले यस्तो चेतावनी जारी गरेको हो।

प्राधिकरणका अनुसार यस्ता अनधिकृत लिंकहरू हेर्दा वास्तविक जस्तै देखिने गरी डिजाइन गरिएका हुन्छन्, जसले गर्दा आम प्रयोगकर्ता सहजै भ्रममा पर्ने गरेका छन्। यस्ता प्रकृतिका शंकास्पद लिंकहरूमा क्लिक गर्दा प्रयोगकर्ताको व्यक्तिगत तथा संवेदनशील विवरणहरू चोरी हुने, सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुग्ने र अनलाइन वित्तीय ठगीजस्ता गम्भीर साइबर अपराधको सिकार हुनुपर्ने उच्च जोखिम रहन्छ। यस प्रकारको डिजिटल सुरक्षा जोखिमबाट बच्नका लागि प्राधिकरणले त्यस्ता सन्देश वा लिंकहरूलाई कदापि नखोल्न, क्लिक नगर्न र पूर्ण रूपमा बेवास्ता गर्न सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गरेको छ।

प्रविधिको दुरुपयोग गरी सर्वसाधारणलाई अलमल्याउने र ठगी गर्ने गिरोह सक्रिय रहेकाले यस्ता गतिविधिप्रति सधैँ सजग रहन आवश्यक देखिएको छ। प्राधिकरणले कुनै पनि अपरिचित माध्यमबाट प्रलोभन देखाएर वा तर्साएर आउने सन्देशहरू प्राप्त भएमा तुरुन्तै सावधानी अपनाउन र आफ्नो डिजिटल बैंकिङ तथा व्यक्तिगत सुरक्षा सूचकहरू कसैसँग साझा नगर्न समेत ध्यानाकर्षण गराएको छ।