धादिङ गोलाभन्ज्याङमा दुई नाल अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ

333 पटक पढिएको

३ असार २०८३, बुधबार ०६:४१ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुई नाल अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। नीलकण्ठ नगरपालिका वडा नं. ११ गोलाभन्ज्याङस्थित बिरूडा सामुदायिक वन आसपासका क्षेत्रमा केही व्यक्तिहरूले अवैध हातहतियार लुकाई–छिपाई राख्ने र वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको विशेष प्रहरी टोलीले निगरानी तथा खानतलासी गर्ने क्रममा ती व्यक्तिहरूलाई हतियारसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जेठ १ गते साँझ सिम्ले सामुदायिक वनको बिरौटा भिरमा नीलकण्ठ नगरपालिका वडा नं. ११ गोलाभञ्ज्याङ बस्ने ३३ वर्षीय श्याम बहादुर शाक्यलाई फायरका लागि बारुद भरेर लोड गरी लुकाई राखेको अवस्थामा एक नाल बन्दुकसहित फेला पारिएको थियो। त्यस्तै, नीलकण्ठ नगरपालिका वडा नं. ९ पाल्पाभञ्ज्याङ बस्ने ३२ वर्षीय सन्त बहादुर गुरूङले आफ्नो घरबाट साथमा लिई गई बिरूडा सामुदायिक वन नजिकै झाडीमा लुकाएको अवस्थामा थप एक नाल अवैध बन्दुक बरामद गरिएको हो। स्थानीय बासिन्दाहरूको रोहबरमा रीतपूर्वक दुवै नाल बन्दुक बरामद गरी अभियुक्तहरूलाई तत्कालै घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाक्य र गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार अभियुक्तहरूलाई थप अनुसन्धानका लागि धादिङ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट नौ दिनको म्याद थप अनुमति प्राप्त भएको छ। प्रहरीले यस घटनाको सम्बन्धमा थप सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ।