जलवायु–कृषक पाठशाला सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

200 पटक पढिएको

३ असार २०८३, बुधबार १८:५८ सम्पादक: धादिङ न्यूज

धादिङ । उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण रिलिफ परियोजना अन्तर्गत आड्रा नेपाल र प्रयास नेपालको साझेदारीमा कृषि समूहका सहजकर्ताहरूका लागि आयोजित जलवायु–कृषक पाठशाला  सम्बन्धी पुनर्ताजगी तालिम  सम्पन्न भएको छ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीबारे सहजकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै कृषक पाठशालालाई थप प्रभावकारी, व्यवहारिक र परिणाममुखी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो। तालिममा जलवायु उत्थानशील कृषि अभ्यास, कृषक सिकाइ प्रक्रिया, जोखिम न्यूनीकरण तथा दिगो कृषि विकासका विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।

तालिममा आड्रा नेपालका रिलिफ परियोजना अधिकृत माधव जंग महत, प्रयास नेपालका रुपेश तामाङ तथा खनियाबास गाउँपालिकाका कृषि शाखा प्रमुख जीवन तामाङले सहजीकरण गर्नुभएको थियो। उहाँहरूको प्राविधिक ज्ञान, अनुभव तथा व्यावहारिक प्रस्तुतिले सहभागी सहजकर्ताहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

कार्यक्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ, वडा नं. ३ का अध्यक्ष कमान सिंह तामाङ तथा वडा नं. ५ का अध्यक्ष रविन कुमार तामाङको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले जलवायु परिवर्तनले कृषि, खाद्य सुरक्षा तथा किसानको जीविकोपार्जनमा पारिरहेको प्रभावबारे प्रकाश पार्दै बदलिँदो परिस्थितिसँग अनुकूलन हुने आधुनिक, दिगो तथा जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो।