आइतबार बिदा नदिने विद्यालयप्रति गल्छी गाउँपालिकाको कडा निर्देशन, अटेर गरे कारबाही हुने

261 पटक पढिएको

३ असार २०८३, बुधबार १९:०३ सम्पादक: धादिङ न्यूज

धादिङ, ३ असार । धादिङको गल्छी गाउँपालिकाले नेपाल सरकारको निर्णयअनुसार हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न पालिकाभित्रका सबै विद्यालयलाई कडा निर्देशन दिएको छ।

गाउँ कार्यपालिकाको कार्यालयले बुधबार सूचना जारी गर्दै आइतबार बिदा नदिने विद्यालयहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो।

भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर ४५८, मिति २०८३/०२/१८ को पत्र तथा नेपाल सरकारको निर्णयअनुसार २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भइसकेको छ।

तर गल्छी गाउँपालिकाभित्र सञ्चालित केही सामुदायिक तथा संस्थागत विद्यालयहरूले उक्त निर्णय कार्यान्वयन नगरी आइतबार समेत नियमित पठनपाठन सञ्चालन गरिरहेको गुनासो प्राप्त भएपछि गाउँपालिकाले पुनः निर्देशन जारी गरेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालद्वारा हस्ताक्षरित सूचनामा नेपाल सरकारको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालय तथा बालविकास केन्द्रहरूलाई आग्रह गरिएको छ। साथै निर्णयको अवज्ञा गरी आइतबार विद्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

गाउँपालिकाले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत (निजी) विद्यालय तथा बालविकास केन्द्रहरूलाई तत्काल दुई दिने बिदा व्यवस्था कार्यान्वयन गरी सरकारको निर्णयको पालना गर्न निर्देशन दिएको छ।