सासूको घाटमा दाहसंस्कार हुँदै गर्दा घरमा बुहारीको निधन: धादिङबेसीमा एकै परिवारमा बज्रपात, गाउँ नै शोकमा

554 पटक पढिएको

४ असार २०८३, बिहीबार ०६:५५ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, ४ असार । नियतिको खेल पनि कति निष्ठुरी र अनौठो ! सुन्दा पनि आङ सिरिङ्ग हुने र छाती चिरा पर्ने एउटा हृदयविदारक घटनाले बुधबार धादिङ सदरमुकाम धादिङबेसीसहित सिंगो जिल्लालाई स्तब्ध र भावविह्वल बनाएको छ । नीलकण्ठ नगरपालिका–२, साँखु पुख्यौली घर भई हाल वडा नं. ३ जरेवर निवासी नेपाल परिवारमा एकैदिन, केही घण्टाको अन्तरालमा सासू र बुहारी दुवैको निधन भएपछि सिंगो गाउँ शोकको सागरमा डुबेको छ ।

घटना विवरण अनुसार, परिवारकी जेठी आमा (सासू) देवकुमारी नेपालको निधन भएपछि दागबत्ती दिनका लागि आफन्त र गाउँलेहरू घाटमा पुगेका थिए । घाटमा दागबत्ती दिएर जलिरहेको चितासामु बसिरहेका मलामी र परिवारका सदस्यहरू त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जब घरबाट अर्को अप्रत्याशित र दर्दनाक खबर आयो– “घरमा बुहारी पित्तकुमारी नेपालको पनि श्वास रोकियो !”देवकुमारी ९२  र पित्तकुमारी ७० बर्षीया हुनुहुन्थ्यो । देवकुमारीको विहान ७.३० वजे र पित्त कुमारीको विहान १०.२५ वजे निधन भएको परिवारका सदस्य जर्नादन नेपालले जानकारी दिनु भयो ।

एउटा मृत शरीरको दाहसंस्कार गरिरहेकै ठाउँमा अर्को मृत्युको खबर सुन्नुपर्दा घाटमा उपस्थित सबैका आँखा रसाए, र सबै स्तब्ध हुन पुगे । सुन्दा पनि पत्याउन गाह्रो पर्ने यस्तो दैवको क्रूर लीलाले नेपाल परिवारलाई मात्रै होइन, सिंगो धादिङबेसीबासीलाई आश्चर्यचकित र मर्माहत बनाएको छ ।

यस अकल्पनीय दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल शिक्षक संगठन धादिङका उपाध्यक्ष शिव प्रसाद रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– “यो अकल्पनीय दुःखद घटनाले नेपाल शिक्षक संगठन धादिङ स्तब्ध भएको छ । नेपाल शिक्षक संगठन धादिङका सल्लाहकार सदस्य, शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य एवं कर्णेश्वर माध्यमिक विद्यालयका शिक्षक भेषराज नेपाल, महेन्द्र माविका शिक्षक मोदनाथ नेपाल, स्थानीय समाजसेवीहरू योगप्रसाद नेपाल र गंगाराम नेपालकी आमा महेन्द्र माविका शिक्षक सीता नेपालको सासु आमा देवकुमारी नेपाल तथा लामागुरु माध्यमिक विद्यालयका शिक्षक नरहरि नेपालकी ममतामयी आमा  पित्तकुमारी नेपालको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।”

एउटै घरका दुई पूजनीय मातृशक्तिको यसरी आकस्मिक र अकल्पनीय रूपमा बिदाइ हुँदा सिंगो नेपाल परिवार सम्हालिन नसक्ने गरी गहिरो शोकमा डुबेको छ ।

यसै गरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राम बहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका पूर्व उपमेयर मनराज भण्डारी, नेपाल शिक्षक संगठन धादिङका इन्चार्ज तिलक बहादुर प्रजा, शिक्षक संगठन धादिङका पूर्व अध्यक्ष शंकर अधिकारी, लामा गुरु माध्यमिक बिद्यालय, महेन्द्र माध्यमिक बिद्यालय लगायत संघ संस्था र व्यक्तिहरुलेलगायतले दिवंगत आमाहरू देवकुमारी नेपाल र पित्तकुमारी नेपालप्रति हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँहरूले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।