रुबीभ्यालीको लापा–खादिङ सडक स्तरोन्नति कार्य जारी, खादिङसम्म पुर्‍याउन थप बजेटको आवश्यकता

163 पटक पढिएको

५ असार २०८३, शुक्रबार ०६:२५ सम्पादक: धादिङ न्यूज

धादिङ, ५ असार । धादिङ जिल्लाको विकट हिमाली क्षेत्र रुबीभ्याली गाउँपालिका–६ अन्तर्गत पर्ने लापा–खादिङ सडकको निर्माण तथा स्तरोन्नति कार्य  तीव्र गतिमा अगाडि बढेको छ। गत आर्थिक वर्षमा करिब २ करोड रुपैयाँको लागतमा सुरु गरिएको यस सडक आयोजनालाई चालु आर्थिक वर्षमा २९ लाख रुपैयाँ बजेट विनियोजन गरी थप स्तरोन्नति गरिँदै आएको हो।

भौगोलिक रूपमा दुर्गम मानिएको यस क्षेत्रमा सडक निर्माण र स्तरोन्नतिको काम अगाडि बढेसँगै स्थानीय बासिन्दाको यातायात पहुँचमा विस्तार हुन थालेको छ। यो सडकले गाउँपालिकाका विकट बस्तीहरूलाई जिल्ला सदरमुकाम धादिङबेँसीसँग सीधा जोड्ने महत्वपूर्ण आधार तयार गरिरहेको स्थानीयवासीको भनाइ छ।

हालसम्म भएको कामले स्थानीयको आवतजावतमा सहजता ल्याए पनि सडकलाई पूर्ण रूपमा खादिङ गाउँसम्म पुर्‍याउन अझै पर्याप्त बजेटको आवश्यकता रहेको रुबीभ्याली गाउँपालिका–६ का वडा सदस्य उमेश गुरुङले बताउनुभयो। उहाँका अनुसार हाल उपलब्ध बजेटले सडक विस्तार र स्तरोन्नतिको केही खण्ड मात्र सम्पन्न गर्न सम्भव भएको हो। सडकलाई गन्तव्यसम्म पुर्‍याउन र दिगो बनाउन आगामी वर्षहरूमा थप ठूलो लगानी आवश्यक पर्ने उहाँले स्पष्ट पार्नुभयो।

यो सडक खण्डको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएपछि रुबीभ्याली क्षेत्रको कृषिजन्य उत्पादनको ढुवानी, स्वास्थ्य तथा शैक्षिक सेवामा सहज पहुँच पुग्ने विश्वास गरिएको छ। साथै, यसले स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

रुबीभ्याली क्षेत्रका बासिन्दा तथा सरोकारवालाहरूले सडक निर्माण कार्यलाई नरोकी निरन्तरता दिनका लागि सम्बन्धित सरकारी निकाय र गाउँपालिकासँग आवश्यक थप बजेट व्यवस्थापन र स्रोत सुनिश्चितताका लागि जोडदार माग गरेका छन्।