आज १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

190 पटक पढिएको

७ असार २०८३, आईतवार ०७:२२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । ‘स्वस्थ र दीर्घायु जीवनका लागि योग’ भन्ने मूल नाराका साथ आज देशभर विविध कार्यक्रम आयोजना गरी १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुख्य संयोजनमा सरकारी निकाय, योगशाला तथा विभिन्न सामाजिक संघ-संस्थाहरूले यस दिवसको अवसरमा काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहर र शैक्षिक संस्थाहरूमा बिहानैदेखि सामूहिक योग अभ्यास, चेतनामूलक र्‍याली र गोष्ठीहरू सञ्चालन गरिरहेका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको प्रस्ताव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानलाई स्वीकार गर्दै सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखलाई विश्व योग दिवसका रूपमा मनाउन थालिएको हो। सोही विश्वव्यापी अभियानलाई आत्मसात् गर्दै नेपाल सरकारले पनि २०७३ जेठ २६ गते औपचारिक निर्णय गरी हरेक वर्ष जुन २१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो दिवस मनाउने परम्पराको सुरुवात गरेको थियो।

परम्परागत अभ्यास मात्र नभएर आधुनिक व्यस्त जीवनशैलीमा तन र मन दुवैलाई शान्त एवं निरोगी राख्न योग अपरिहार्य बनिसकेको विज्ञहरूले बताएका छन्।

नियमित योग अभ्यासले मानव शरीर र मस्तिष्कमा बहुआयामिक फाइदाहरू पुर्‍याउने हुँदा यसले मानसिक तनावलाई कम गर्नुका साथै आधुनिक समाजको मुख्य समस्याका रूपमा रहेका उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगहरू नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्छ।

विभिन्न योग आसन र श्वास-प्रश्वास अर्थात् प्राणायामको माध्यमबाट शरीरभित्र जमेर बसेका विषाक्त पदार्थहरू बाहिर निस्कने हुनाले यसले शरीरमा पोषक तत्त्वहरूको प्रवाहलाई सहज बनाउने र टक्सिन हटाउने काम गर्छ।

यसैगरी योग अभ्यासले शरीरको रक्तसञ्चार प्रणालीलाई सन्तुलित बनाउनुका साथै जोर्नी, हड्डी र मांसपेशीहरूलाई बलियो र लचिलो बनाउन विशेष सहयोग पुर्‍याउँछ। सम्पूर्ण शरीरका मांसपेशीहरूलाई सक्रिय राख्ने भएकाले यसलाई एक पूर्ण शारीरिक व्यायामको रूपमा समेत लिने गरिन्छ।

योगले मस्तिष्कलाई शान्त बनाउने भएकाले मानिसमा एकाग्रता बढ्ने र यस्तो मानसिक शान्तिले दैनिक कार्यसम्पादन गर्ने क्षमतामा समेत उल्लेख्य वृद्धि गर्ने हुँदा स्वस्थ र दीर्घायु जीवनका लागि दैनिक योग आवश्यक रहेको विज्ञहरूको धारणा छ।