खेर गएका पातबाट कमाइको बाटो: गल्छीका महिलाले पाए दुना–टपरी उत्पादन मेसिन

155 पटक पढिएको

११ असार २०८३, बिहीबार ०७:०६ सम्पादक: धादिङ न्यूज

धादिङ, ११ असार  । गल्छी गाउँपालिकाले परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदायका महिलाहरूलाई व्यावसायिक आत्मनिर्भरताको बाटोमा डोर्‍याएको छ। गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित दुई दिने ‘हाइड्रोलिक मेसिनद्वारा दुना–टपरी उत्पादन’ तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ।

पहिले हातैले बनाउँदा धेरै समय र मेहनत लाग्ने दुना–टपरीलाई अब हाइड्रोलिक मेसिनको प्रयोगले छिटो, आकर्षक र व्यावसायिक रूपमा उत्पादन गर्न सकिने भएको छ। गल्छी गाउँपालिका–६, महेशदोभानस्थित ‘आत्मनिर्भर महिला समूह’का २१ जना महिलाले यस तालिममार्फत मेसिन सञ्चालन, गुणस्तरीय उत्पादन र व्यावसायिक व्यवस्थापनको व्यावहारिक ज्ञान प्राप्त गरेका छन्।

 गाउँपालिकाको ८५ प्रतिशत र समूहको १५ प्रतिशत लागत साझेदारीमा उक्त आधुनिक मेसिन खरिद गरिएको हो। तालिमको समापनसँगै मेसिन हस्तान्तरण गर्दै जनस्वास्थ्य निरीक्षक शिवप्रसाद पौडेलले भन्नुभयो, “हामीले महिलाहरूलाई सीप मात्र सिकाएका छैनौँ, उहाँहरूको हातमा आधुनिक प्रविधि सुम्पिएका छौँ। यसले वनजंगलमा खेर गइरहेका सालका पातलाई सदुपयोग गर्दै आयआर्जनको बलियो स्रोत बनाउनेछ।”

प्लास्टिकका भाँडाकुँडा विस्थापन गरी वातावरणमैत्री दुना–टपरीको प्रयोगलाई बढावा दिन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास गरिएको छ। स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको प्रयोग गरी बजारको मागअनुसारको उत्पादन गर्ने र समूहलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको मुख्य लक्ष्य छ।

तालिममा सहभागी महिलाहरूले आफ्नो सीपलाई अब सामूहिक उद्यममा बदल्ने दृढता व्यक्त गरेका छन्। उनीहरूले भने, “पहिले फुर्सदको समयमा सामान्य रूपमा मात्र बनाइने दुना–टपरी अब हाम्रो कमाइको आधार बन्नेछ। प्रविधिले कामलाई सजिलो बनाएको छ, अब हामी व्यावसायिक बनेर देखाउँछौँ।”

आर्थिक रूपमा विपन्न तथा पछाडि पारिएका समुदायका महिलालाई उद्यमशील बनाउन गल्छी गाउँपालिकाले थालेको यो प्रयासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै महिला सशक्तीकरणमा कोसेढुङ्गा सावित हुने देखिएको छ।