कोलोराडोमा ‘नेपाली घर’को भव्य समारोहबीच पद हस्तान्तरण: गंगा चौलागाईंको नेतृत्वमा नयाँ कार्यसमिति

209 पटक पढिएको

१४ असार २०८३, आईतवार १५:०४ सम्पादक: धादिङ न्यूज

डेनभर, कोलोराडो (अमेरिका)

कोलोराडो, २८ जुन (२०२६)। अमेरिकामा रहेका नेपालीभाषी समुदायको साझा आस्था, नेपाली पहिचान र गौरवको प्रतीक मानिएको ‘नेपाली घर’ (नेपाल अमेरिका सोसियोकल्चरल एक्सचेन्ज सोसाइटी) को नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सभाहलमा दिउँसो १ बजेदेखि ५ बजेसम्म आयोजित विशेष समारोहमा निवर्तमान अध्यक्ष बसन्त लम्सालले नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंलाई संस्थाको नेतृत्व तथा सम्पूर्ण प्रशासनिक एवम् कानुनी जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

निवर्तमान अध्यक्ष बसन्त लम्सालको अध्यक्षता तथा कोलोराडोका वरिष्ठ समाजसेवी रामप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा अमेरिकास्थित विभिन्न सामाजिक, सांस्कृतिक, साहित्यिक तथा पेसागत संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजीवी र नेपाली समुदायका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। राजु खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको औपचारिक सञ्चालन भोला कटुवालले गर्नुभएको थियो।

कार्यक्रमका विशेष अतिथि नेपाली राजदूतावास वासिङ्टन डिसीका कार्यबाहक राजदूत शरदकुमार आरनले डायस्पोरामा रहेका नेपालीहरूका लागि एकता र आपसी सद्भाव नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो। कोलोराडोको नेपाली समुदायमा देखिएको आपसी भ्रातृत्व, सहकार्य र संगठनात्मक परिपक्वताको उच्च प्रशंसा गर्दै कार्यबाहक राजदूत आरनले नेपाली घरले कोलोराडोमा एउटा बलियो जग बसाएको बताउनुभयो। उहाँले अबको नयाँ नेतृत्वले यहाँ हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली मूलका बालबालिका तथा युवाहरूलाई संस्थाका गतिविधि, नेपाली भाषा, संस्कृति र नेतृत्वदायी भूमिकासँग जोड्दै लैजानु अपरिहार्य भइसकेको उल्लेख गर्दै यसमा दूतावासको तर्फबाट सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

नेतृत्वको कार्यभार सम्हालेपछि समुदायलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंले ‘नेपाली घर’को गरिमालाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभयो। सम्बोधनका क्रममा उहाँले सिटी अर्थात् स्थानीय प्रशासनसँग आवश्यक समन्वय र कानुनी प्रक्रियाहरू यथाशीघ्र पूरा गरी भवनसँग सम्बन्धित बाँकी रहेका सम्पूर्ण प्राविधिक कार्यहरू सम्पन्न गर्ने उद्घोष गर्नुभयो। संस्थाका तर्फबाट ‘Full Occupancy Letter’ प्राप्त गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले यसबाट नेपाली घरको स्थायित्व, कानुनी विश्वसनीयता र संस्थागत भविष्य सुरक्षित हुने विश्वास दिलाउनुभयो।

आफ्नो योजनालाई थप प्रष्ट पार्दै अध्यक्ष चौलागाईंले नेपाली घरको हल लाई थप व्यवस्थित, आधुनिक, प्रविधियुक्त र आकर्षक बनाउने योजना सार्वजनिक गर्नुभयो। उक्त हललाई विवाह, व्रतबन्ध, भोज, सांस्कृतिक उत्सव, सम्मेलन तथा विभिन्न सामुदायिक गतिविधिहरू सहज रूपमा सञ्चालन गर्न मिल्ने बहुउद्देश्यीय हलका रूपमा विकास गरिने उहाँले बताउनुभयो। यसबाट एकातिर समुदायले सहुलियत र उत्कृष्ट सेवा पाउनेछ भने अर्कोतिर नेपाली घरको आन्तरिक आर्थिक स्रोत बलियो भई संस्था आत्मनिर्भर बन्ने आधार खडा हुने उहाँको भनाइ थियो। यसैगरी नयाँ पुस्ता र युवाहरू नै भोलिको नेतृत्वकर्ता भएकाले उनीहरूलाई नेपाली घरसँग भावनात्मक रूपमा जोड्न परिसरभित्रै एउटा व्यवस्थित भलिबल कोर्ट निर्माण गर्ने लक्ष्य राखिएको र खेलकुदका माध्यमबाट दोस्रो पुस्तालाई संस्थाको मूलधारमा ल्याइने उहाँले प्रष्ट पार्नुभयो।

सम्बोधनका क्रममा उहाँले नेपाली घर स्थापनाको गौरवशाली इतिहास र विगतको ऐतिहासिक ‘सप्ताह महापुराण’लाई स्मरण गर्नुभयो, जुन अभियान सम्पूर्ण समुदायको श्रद्धा, विश्वास र दानशीलताकै कारण सफल भएको थियो। आफ्नो सम्बोधनको अन्त्यमा भावुक बन्दै अध्यक्ष चौलागाईंले अबको सबैभन्दा ठूलो साझा लक्ष्य नेपाली घरलाई पूर्ण रूपमा ऋणमुक्त बनाउनु रहेको उल्लेख गर्दै यो कुनै एक कार्यसमितिको मात्र नभई सिंगो कोलोराडोवासी नेपालीहरूको साझा महाअभियान भएकाले सबैलाई हातेमालो गर्न हार्दिक आग्रह गर्नुभयो।

समारोहमा उपस्थित कोलोराडोका प्रमुख संघ-संस्थाका प्रतिनिधिहरूले नेपाली घरको नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई ऋणमुक्त बनाउने महाअभियानमा आफ्नो संस्थाको तर्फबाट भौतिक, नैतिक र आर्थिक रूपमा पूर्ण सहयोग रहने सामूहिक प्रतिबद्धता जनाएका थिए। यसरी शुभकामना मन्तव्य राख्दै ऐक्यबद्धता जनाउनेहरूमा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडोका अध्यक्ष किरण अधिकारी, सिस्टर ग्रुपकी अध्यक्ष शान्ति भुसाल, मगर संघ कोलोराडोका अध्यक्ष उपेन्द्र मगर, ग्लोबल फिल्मका संयोजक नवराज श्रेष्ठ तथा तमु पेलुका आधिकारिक प्रतिनिधिहरू हुनुहुन्थ्यो। वक्ताहरूले नयाँ नेतृत्वले संस्थालाई अझ बढी सशक्त, समावेशी, पारदर्शी र समुदायमुखी बनाउनेमा आफूहरू पूर्ण रूपमा विश्वस्त रहेको उल्लेख गरे।

यसैगरी, सामुदायिक सहकार्य परिषद्का वरिष्ठ उपाध्यक्ष नवीन दत्त, विशिष्ट समाजसेवीहरू नारायण श्रेष्ठ तथा टिका सिटौलाले पनि नयाँ कार्यसमितिलाई बधाई दिँदै नेपाली घरको विकासका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। व्यस्तताका कारण उपस्थित हुन नसक्नुभएका सामुदायिक सहकार्य परिषद्का संयोजक डा. विजयराज शर्माले पठाउनुभएको लिखित शुभकामना सन्देश समारोहमा पढेर सुनाइएको थियो।

कार्यक्रमको एक विशेष र सांस्कृतिक क्षणमा स्थानीय अग्रज समाजसेवी कान्त रेग्मीले नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंलाई सुख, समृद्धि र दीर्घकालीन सफलताको प्रतीकका रूपमा दुबोको माला पहिर्‍याएर सफल एवम् अविस्मरणीय कार्यकालको आशीर्वाद प्रदान गर्नुभएको थियो। सोही क्रममा सिष्टर ग्रुपका दिदीबहिनीहरूले नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई फूलका गुच्छाहरू टक्र्याएर भव्य स्वागत गरेका थिए।

समग्रमा, कोलोराडोमा सम्पन्न यो पद हस्तान्तरण कार्यक्रम केवल एउटा औपचारिक र कानुनी प्रक्रियामा मात्र सीमित रहेन। यसले डायस्पोरामा रहेका नेपालीहरूबीचको एकता, आपसी उत्तरदायित्व र साझा संकल्पलाई पुनः स्थापित गरेको छ। नयाँ कार्यसमितिको आगमनसँगै ‘नेपाली घर’लाई ऋणमुक्त बनाउने, संस्थागत रूपमा सुदृढ गर्ने र भावी पुस्ताको बलियो केन्द्र बनाउने एउटा सुखद र उत्साहपूर्ण नयाँ अध्यायको सुरुवात भएको सहभागीहरूले महसुस गरेका छन्।


Great article! The Philippine online gaming scene is really evolving, and platforms like DailyJili are adapting well – especially with GCash & PayMaya! For a smooth dailyjili login com experience, quick verification is key. Definitely seeing a shift towards mobile-first gaming too!

Honestly, I thought this was going to be dry theory, but the breakdown is surprisingly clear. The focus on local payment methods in 999 game really shows they understand the user base. Makes learning basic strategy feel less academic!