एमाले बागमती प्रदेश कमिटीको निर्णयले धादिङमा हलचल: जिम्मेवारीविहीन पुराना नेताहरू मुख्य भूमिकामा फर्किए (विवरणसहित)
823 पटक पढिएको
धादिङबेंसी । लामो समयदेखि कुनै पनि जिम्मेवारीमा नरहेका धादिङका नेताहरूलाई नेकपा (एमाले) बागमती प्रदेश कमिटीले विभिन्न महत्वपूर्ण जिम्मेवारी सुम्पिएसँगै धादिङ एमाले वृत्तमा यस विषयले ठूलो हलचल ल्याएको छ। नेकपा (एमाले) बागमती प्रदेश कमिटीको २०८३ जेठ २९ र ३० गते काठमाडौँमा बसेको बैठकले पार्टी काममा सक्रिय रहेर पनि लामो समयदेखि भूमिकाविहीन बन्न पुगेका पुराना र युवा नेताहरूलाई एकाएक पालिका, भूगोल र विभागीय इञ्चार्ज जस्ता शक्तिशाली जिम्मेवारी तोकेपछि जिल्ला तहको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको हो ।
बागमती प्रदेश संगठन कमिटीको उक्त बैठकले पार्टी विधानको धारा ६९ को व्यवस्था बमोजिम खाली रहेका विभिन्न पदहरूमा नयाँ सदस्यहरू मनोनयन गर्नुका साथै नेताहरूको जिम्मेवारी बाँधफाँड गरेको हो। कमिटीका सदस्यहरू गोपीकृष्ण न्यौपाने, बद्रिप्रसाद लम्साल र अजितमान तामाङले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले रिक्त प्रदेश संगठन कमिटी सदस्य, प्रदेश सल्लाहकार परिषद् पदाधिकारी, र रिक्त प्रदेश विभाग सचिवहरूमा नयाँ मनोनयन गरेको हो। प्राप्त आधिकारिक जानकारी अनुसार नयाँ जिम्मेवारी पाउनेहरूमा धादिङ जिल्लाका नेताहरूको निकै बलियो उपस्थिति देखिएको छ, जसले जिल्लाभित्र नयाँ समीकरण र बहसको सुरुवात गराएको छ ।
मनोनयन प्रक्रिया अन्तर्गत विभागीय सचिवहरू मध्येबाट धादिङका सञ्जय दुवाडी, युवा समूहबाट सन्तोष राना क्षेत्री र भूगोल क्षेत्रबाट रामकुमार आचार्य प्रदेश कमिटी सदस्यमा मनोनित हुनुभएको छ। पुराना नेताहरूलाई मुख्य धारमा फर्काउने क्रममा युवा समूहबाट सन्तोष राना क्षेत्रीलाई प्रदेश कमिटीमा ल्याएर अनेरास्ववियु जस्तो महत्वपूर्ण मोर्चाको इञ्चार्ज बनाइनु र भूगोलबाट रामकुमार आचार्य तथा विभागीय सचिवहरू मध्येबाट सञ्जय दुवाडीलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरि प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दिईनुलाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैगरी प्रदेश सल्लाहकार परिषद्को पदाधिकारी तथा सदस्यहरूमा धादिङका नेत्र नेपालले सचिवको र अर्जुनलाल श्रेष्ठले सदस्यको जिम्मेवारी पाउनुभएको छ। विभिन्न रिक्त प्रदेश विभागीय सचिवहरूमा धादिङबाट ठूलो संख्यामा नेताहरू चयन भएका छन्, जसमा संसदीय विभाग सचिवमा गोकुल लामिछाने, शहरी विकास विभाग सचिवमा केशव गजुरेल, पर्यटन तथा नागरिक उड्डयन विभाग सचिवमा स्वतन्त्र पण्डित, ऊर्जा जलश्रोत तथा सिँचाई विभाग सचिवमा सुरेन्द्र श्रेष्ठ र विज्ञान तथा प्रविधि विभाग सचिवमा विक्रम राना रहनुभएको छ।
बैठकले प्रदेश कमिटी सदस्यहरूको जिल्ला, स्थानीय तह तथा भ्रातृ संगठनहरूमा विस्तृत कार्यविभाजन समेत तोकेको छ। जसअनुसार अम्बिका रुपाखेतीलाई वन तथा वातावरण विभागको प्रमुख, इमान तामाङलाई खनियाबास गाउँपालिका र रुबीभ्याली गाउँपालिकाको इञ्चार्ज, ईश्वरीप्रसाद अधिकारीलाई नेत्रावती गाउँपालिकाको इञ्चार्ज, उमेशकुमार थापालाई धादिङ क्षेत्र नं. २ (२) र त्रिपुरासुन्दरी गाउँपालिकाको इञ्चार्ज तथा कमला शर्मा (अधिकारी) लाई सिद्धलेक गाउँपालिकाको इञ्चार्जको जिम्मेवारी दिइएको छ।
त्यसैगरी कल्पना सुवेदीलाई गजुरी गाउँपालिकाको इञ्चार्ज, कृष्णप्रसाद पन्तलाई अर्थ तथा योजना विभागको प्रमुख, कृष्णबहादुर लामालाई धादिङ क्षेत्र नं. २ (१) को इञ्चार्ज, खिलकुमारी पोखरेल (तिवारी) लाई ज्वालामुखी गाउँपालिकाको इञ्चार्ज र गंगादेवी श्रेष्ठलाई संसदीय व्यवस्था विभागको प्रमुखको जिम्मेवारी सुम्पिएको छ। लामो समयपछि महत्वपूर्ण जिम्मेवारीमा फर्कनुभएका नेता डा. रामकुमार अधिकारीलाई संगठन विभागको सचिव र निलकण्ठ नगरपालिकाको इञ्चार्ज जस्तो शक्तिशाली र जिम्मेवार भूमिका दिइएको छ भने धनबहादुर घलेलाई संगठन विभागको सदस्य, मन्दिरा श्रेष्ठलाई धुनिबेसी नगरपालिकाको इञ्चार्ज, राजु रेग्मीलाई लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको इञ्चार्ज र राधा तिमल्सिना (लामिछाने) लाई बेनीघाट रोराङ गाउँपालिकाको इञ्चार्ज तोकिएको छ।
भूगोल र भ्रातृ संगठनको अन्य मोर्चातर्फ रामकुमार आचार्यलाई थाक्रे गाउँपालिकाको इञ्चार्ज, शम्भुकुमार थापालाई गंगाजमुना गाउँपालिकाको इञ्चार्ज, सञ्जय दुवाडीलाई प्रेस चौतारी नेपालको इञ्चार्ज, सन्तोष राना क्षेत्रीलाई अनेरास्ववियुको इञ्चार्ज र सान्नानी बागदास (परियार) लाई स्कुल विभागको सदस्यको जिम्मेवारी दिइएको छ।
जिल्लाका २७ जना नेताहरूलाई एकैपटक यसरी जिम्मेवारी बाँडफाँड गरिएपछि पार्टीभित्र यसले सांगठनिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ। कमिटीले आगामी साउन महिनाभित्र प्रत्येक पालिका कमिटीमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत कम्तिमा ५०/५० जना विद्यार्थीहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्ने र भदौको पहिलो हप्तामा प्रदेश जनसंगठन समन्वय संयन्त्रको आयोजनामा प्रदेश स्तरीय कार्यशाला कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। यो व्यापक हेरफेर र नेताहरूको पुनरागमनले जिल्लाको चुनावी र सांगठनिक रणनीतिमा कस्तो प्रभाव पार्छ भन्नेबारे अहिले धादिङ एमाले वृत्तमा तीव्र चर्चा परिचर्चा भइरहेको छ ।
स्मरणरहोस्, नेकपा (एमाले) धादिङमा लामो समयदेखि दुई लाइन संघर्ष चल्दै आएको छ। गत केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छान्न एकै ठाउँमा उभिएका जिल्लाका नेताहरू त्यसपछि पुनः एकै ठाउँमा विरलै देखिएका छन्। महाधिवेशनको प्रतिनिधि छान्न भने नेताहरू नीतिगत रूपमा एक मात्र भएका थिएनन्, बरु फरक मत राख्ने नेताहरूलाई प्रतिनिधि बन्नबाटै रोक्न आपसी समझदारीमा सहमत भएका थिए।
धादिङबाहेक अन्य जिल्लाका नेताहरूले पाएको जिम्मेवारीको विस्तृत विवरण:
नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको बैठकले धादिङबाहेक प्रदेशका अन्य विभिन्न जिल्लाहरूमा रिक्त रहेका पदहरूमा पनि व्यापक मनोनयन र जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टी विधानको धारा ६९ को व्यवस्था बमोजिम खाली रहेका प्रदेश संगठन कमिटी सदस्य, प्रदेश सल्लाहकार परिषद्को पदाधिकारी तथा विभिन्न विभागका सचिव पदहरूमा नेताहरूलाई जिम्मेवारी सुम्पिएको हो ।
विभिन्न क्षेत्र र जिल्लाबाट रिक्त रहेका स्थानहरूमा संगठन कमिटी सदस्यका रूपमा नयाँ नेताहरू मनोनित भएका छन्। जस अन्तर्गत विभागीय सचिवहरू मध्येबाट चितवनका उमाकान्त शर्मा र काभ्रेपलाञ्चोकका रुप योञ्जनलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको छ।
त्यस्तै, लामो समयदेखि जनसंगठनमा काम गरेर भूमिकाविहीन रहनुभएका नेताहरू मध्येबाट मकवानपुरका जयराम डिम्डुङ्ग र रामेछापका जय गुरुङ प्रदेश कमिटीमा समेटिनुभएको छ। जनजाति समूहबाट रामेछापका ज्ञानकुमार योञ्जन, सिन्धुपाल्चोकका सूर्य लामा, नुवाकोटका बुद्धि प्रधान, मकवानपुरका इन्द्रमान स्याङ्तान र काभ्रेका रक्तिम लामा मनोनित हुनुभएको छ भने सिमान्तकृत समूहबाट मकवानपुरका गोबिन्दराम चेपाङ चयन हुनुभएको छ।
भूगोलतर्फबाट कमिटीमा ११ जना नेताहरूले जिम्मेवारी पाउनुभएको छ। जसमा चितवनबाट नारायण अधिकारी र जयचन्द्र प्रसाद चौधरी, नुवाकोटबाट वासुदेव कडुवाल, मकवानपुरबाट राजाराम स्याङ्तान, सिन्धुलीबाट लक्ष्मण कार्की, रामेछापबाट टंक चौलागाई, दोलखाबाट गणेश कार्की, सिन्धुपाल्चोकबाट युद्धबिक्रम तामाङ (डि.बी.) र काभ्रेपलाञ्चोकका प्रकाश गौतम रहनुभएको छ नुवाकोटका मिलन लामालाई पनि रिक्त स्थानबाट प्रदेश कमिटी सदस्यमा मनोनित गरिएको छ भने रसुवा जिल्लाको भूगोलतर्फ भने पछि मनोनयन गरिने जनाइएको छ ।
पार्टीको प्रदेश सल्लाहकार परिषद्को नेतृत्व र सदस्यहरूमा पनि नयाँ जिम्मेवारी तोकिएको छ। रामेछापका तुल प्रसाद कँडेललाई सल्लाहकार परिषद्को अध्यक्षको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ भने सिन्धुपाल्चोककी माइली तामाङ उपाध्यक्ष चयन हुनुभएको छ।
यसैगरी परिषद्को सदस्यहरूमा रामेछापबाट प्रवल कार्की र नविन श्रेष्ठ, रसुवाबाट कृष्ण बहादुर तामाङ तथा दोलखा जिल्लाबाट विन कुमार थामी, बसन्तराज कार्की, शान्तीकुमारी तामाङ र जीवसराज खड्का रहनुभएको छ।
विभिन्न नेताहरू प्रदेश कमिटी सदस्य भएपछि र रिक्त रहेका अन्य विभागहरूमा नयाँ सचिवहरूको मनोनयन गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा रामेछापका तिर्थ श्रेष्ठ र साहित्य कला सांस्कृतिक विभागको सचिवमा प्रकाश रेग्मी चयन हुनुभएको छ। सामाजिक सुरक्षा तथा समाजकल्याण विभागको सचिवमा सिन्धुपाल्चोकका दिपक बिक्रम देउजा, वन तथा वातावरण विभागको सचिवमा मकवानपुरकी पार्वती रानामगर र खानेपानी तथा सरसफाई विभागको सचिवमा मकवानपुरका देव कृष्ण पुडासैनी नियुक्त हुनुभएको छ।
त्यस्तै, कानुन विभागको सचिवमा सिन्धुपाल्चोकका भिमसेन रायमाझी, अर्थ तथा योजना विभागको सचिवमा काभ्रेपलाञ्चोकका केशव थापा (कोष व्यवस्थापनबाट स्थानान्तरण), शिक्षा तथा मानव श्रोत विकास विभागको सचिवमा सिन्धुपाल्चोकका रामचन्द्र नेपाल, निर्वाचन विभागको सचिवमा रामेछापका इन्द्र तामाङ र कोष व्यवस्थापन विभागको सचिवमा रामेछापका घनश्याम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।









https://shorturl.fm/mrwF2
https://shorturl.fm/ATVOa
https://shorturl.fm/cuiDx