‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ को नारासहित आज धान दिवस मनाइँदै
152 पटक पढिएको
काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउने’ समय हो। आज असार १५ गते देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। यस वर्षको महोत्सवका लागि ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारा तय गरिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा सरकारले २०६१ साल मंसिर २९ गते असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने मन्त्रिस्तरीय निर्णय गरेको थियो। कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ। आजको दिनलाई नेपाली संस्कृतिमा दही-चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। असार १५ मा दही-चिउरा खानु एउटा स्थापित संस्कृति बनिसकेको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसको उत्पादन बढ्दा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत वृद्धि हुन्छ। राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहँदा, कृषि क्षेत्रबाट प्राप्त कुल गार्हस्थ्य उत्पादनमध्ये धानको मात्रै योगदान करिब १२ प्रतिशत छ।
देशमा जल, जमिन र जनशक्ति पर्याप्त भए तापनि नेपालमा धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन। युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनु, खेतीयोग्य जमिन खण्डीकरण भई घडेरीकरणमा रूपान्तरण हुनु, पर्याप्त सिँचाइ सुविधाको अभाव हुनु, उन्नत जातका बीउबिजनको प्रयोग नहुनु, प्राङ्गारिक तथा रासायनिक मलको सही रूपमा प्रयोग हुन नसक्नु र धानको समर्थन मूल्य समयमै नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ।
नेपालीहरू दुई छाक अनिवार्य, नत्र तीनै छाक भए पनि भात खाने गर्छन्। यही बानीका कारण चामलको आयात बढेको छ भने सरकारले धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ। विश्वको कुल जनसंख्यामध्ये आधाभन्दा बढी एसिया महादेशमा बसोबास गर्छन् र यहाँका धेरै मानिसको मुख्य आहार भात हो। त्यसैले संसारमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देशहरू चीन र भारत एसियामै पर्छन्। त्यसपछि क्रमश: इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको सूचीमा पर्छन्।
नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ। जुम्लाको छुमचौरमा उत्पादन हुने ‘जुम्ली मार्सी’ धान विश्वभर प्रसिद्ध छ, तर यो धान मागअनुसार उत्पादन हुन सकेको छैन। नेपाल भित्र भने झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ। खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादन बढाउनु आवश्यक छ। तर, नेपालमा सरकारी तथ्याङ्कअनुसार करिब ३१ लाख हेक्टर जमिन खेतीयोग्य भए तापनि कुल खेतीयोग्य जमिनमध्ये धेरैजसो भूभाग अझै बाँझो रहेको छ।








https://shorturl.fm/quJYI