सक्रिय राजनीतिमा रहेकाहरूलाई पदमुक्त हुन नेपाल रेडक्रसको आग्रह, उल्लंघन गरे ‘नकारात्मक सूची’ मा राखेर कारबाही गरिने
137 पटक पढिएको
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाको सांगठानिक सुधार र आधारभूत तटस्थतालाई अक्षुण्ण राख्न सक्रिय राजनीतिमा संलग्न व्यक्तिहरूलाई रेडक्रसका सबै जिम्मेवारीबाट अलग हुन आग्रह गरेको छ । रेडक्रसको स्थापित मूल्य, मान्यता र मानवीय सिद्धान्तविपरीत संस्थाभित्र राजनीतिक प्रभाव बढ्दै गएको जनगुनासो चुलिएपछि केन्द्रीय कार्यालयले एक सार्वजनिक अपिल जारी गर्दै यस्तो कठोर कदम चालेको हो । रेडक्रसद्वारा जारी अपिलमा राजनीतिक दल वा तिनका भ्रातृ संगठनका विभिन्न तहमा पदाधिकारी वा सदस्य रहेका व्यक्तिहरूलाई रेडक्रसको कुनै पनि समिति, आयोग वा उपसमितिमा नरहन स्पष्ट रूपमा सचेत गराइएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघले नेपाल रेडक्रसमा बढ्दो राजनीतिक हस्तक्षेपलाई लिएर प्रतिबन्ध लगाउनेसम्मको गम्भीर चेतावनी दिएपछि संस्थाले आफ्नो विधानमै संशोधन गरेर यो नयाँ व्यवस्था लागू गरेको हो । संशोधित विधानअनुसार सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक दल वा तिनका भ्रातृ संगठनका विभिन्न निकायका पदहरूमा रहेका तथा दलका तर्फबाट शासकीय संरचनाका कुनै पनि तहमा पदाधिकारी वा सदस्यका रूपमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीको कुनै पनि तहको नेतृत्व वा जिम्मेवारीमा रहन योग्य हुने छैनन् । विधानको यो व्यवस्थालाई चुनौती दिँदै दोहोरो भूमिकामा रहिरहने व्यक्तिहरूलाई ‘नकारात्मक सूची’ (नेगेटिभ लिस्ट) मा राखेर कडा सांगठानिक कारबाही गरिने रेडक्रसका अधिकारीहरूले चेतावनी दिएका छन् ।
यस निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न रेडक्रसले सर्वसाधारण नागरिकसँग समेत सहयोगको आव्हान गरेको छ । जसअन्तर्गत रेडक्रसको कुनै पनि तहका समितिका पदाधिकारी वा सदस्यहरू कुनै दल वा भ्रातृ संगठनको जिम्मेवारीमा रहेको पाइएमा त्यस्ता व्यक्तिको विवरण तथ्य र प्रमाणसहित केन्द्रीय कार्यालयमा जानकारी गराउन सर्वसाधारणमा अपिल गरिएको छ । डा. विशालकुमार भण्डारीको नेतृत्वमा नवगठित तदर्थ समितिले सुरु गरेको यो रेडक्रस सुधार अभियानलाई आम रेडक्रसकर्मीहरूले निकै सकारात्मक रूपमा लिएका छन् । संस्थालाई राजनीतिक दलहरूको प्रभाव र खिचातानीबाट पूर्ण रूपमा मुक्त बनाउन चालिएको यस ऐतिहासिक कदमले नेपाल रेडक्रसको छवि सुधार्ने र अन्तर्राष्ट्रिय जगतमा यसको व्यावसायिक विश्वसनीयता एवं प्रतिष्ठा पुनः कायम गर्ने विश्वास गरिएको छ ।







