गजुरीदेखि काठमाडौंसम्म विस्तारिँदै ‘निरु व्युटी सलोन’, डेढ करोडको लगानीमा स्वयम्भूमा खुल्यो तेस्रो शाखा
123 पटक पढिएको
काठमाडौं । धादिङको गजुरीबाट सुरु भएको ‘निरु व्युटी एकेडेमी एण्ड युनिसेक्स सलोन’ ले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । यसै क्रममा सलोनले काठमाडौंको स्वयम्भूस्थित एबिएस कम्प्लेक्सको चौथो तलामा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस नयाँ शाखाले अत्याधुनिक र गुणस्तरीय सौन्दर्य सेवाहरू एकै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ ।
नयाँ शाखाको औपचारिक उद्घाटन शुक्रबार एक विशेष समारोहका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष एवं सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलकी धर्मपत्नी सावित्रा कुमारी जैसीले गरेकी हुन् ।
उद्घाटनपश्चात् सलोनको सेवा र व्यवस्थापनको अवलोकन गर्दै प्रमुख अतिथि जैसीले यहाँको सेवाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, “यस पार्लरमा आउने जोसुकै ग्राहक सेवाप्रति पूर्ण सन्तुष्ट भएर फर्किनेछन् भन्नेमा म विश्वस्त छु । यहाँ उपलब्ध विशेष छुटसहितका स्तरीय सेवाबाट लाभ लिन म सबैलाई अनुरोध गर्दछु ।”
नयाँ शाखा सञ्चालनको खुसीयालीमा सलोनले ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । उद्घाटनको पहिलो महिनाभर सलोनबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूमा ४० प्रतिशतसम्मको आकर्षक छुट व्यवस्था गरिएको छ । यसका साथै विभिन्न विशेष कार्यक्रम, उत्सव तथा इभेन्टहरूमा पनि ग्राहकलाई विशेष प्याकेज र छुट प्रदान गरिने व्यवस्थापन पक्षले जनाएको छ ।
विद्यालय अध्ययनकालदेखि नै सौन्दर्य क्षेत्रप्रति विशेष रुचि राख्ने प्रमुख सञ्चालिका निरु थिङले साथीभाइको प्रेरणा र आफ्नै दृढ इच्छाशक्तिका कारण यस क्षेत्रमा व्यावसायिक कदम चालेकी हुन् । आफ्नो पेसाप्रति निकै सन्तुष्ट र जिम्मेवार रहेकी थिङले व्यवसायको बढ्दो लोकप्रियता र ग्राहकको अगाध विश्वासका कारण नै गजुरीबाट काठमाडौंसम्म शाखा विस्तार गर्न सम्भव भएको बताइन् ।
हाल निरु व्युटी एकेडेमीको पहिलो शाखा धादिङको गजुरीमा, दोस्रो शाखा काठमाडौंको सामाखुशीस्थित टाउन प्लानिङमा र तेस्रो शाखा स्वयम्भूमा सञ्चालनमा आइसकेका छन् । सबै शाखाहरूबाट ग्राहकलाई एकै प्रकारको उच्चस्तरीय र गुणस्तरीय सेवा प्रदान भइरहेको सञ्चालिका थिङको भनाइ छ ।
अर्की सञ्चालिका सीता ढुङ्गानाका अनुसार यस युनिसेक्स सलोनमा महिला तथा पुरुष दुवैका लागि छुट्टाछुट्टै एवं संयुक्त रूपमा सम्पूर्ण आधुनिक सौन्दर्य सेवाहरू उपलब्ध छन् । ग्राहकहरूको सुविधा र बदलिँदो चाहनालाई मध्यनजर गर्दै सलोनमा अत्याधुनिक प्रविधि र लामो अनुभव बटुलेका दक्ष जनशक्ति परिचालन गरिएको ढुङ्गानाले जानकारी दिइन् ।
सलोनमा स्टाइलिश हेयरकट, स्मूथ केराटिन, म्यानिक्योर, पेडिक्योर, सम्पूर्ण ग्लो-अप, ट्याटु हटाउने सुविधाका साथै छालासम्बन्धी विभिन्न विशिष्ट उपचारहरू उपलब्ध छन् । ग्राहकको सौन्दर्य सम्बन्धी हरेक आवश्यकतालाई एउटै केन्द्रबाट सम्बोधन गर्ने गरी एकीकृत सेवाको अवधारणा ल्याइएको सञ्चालिका द्वयले बताएका छन् ।
सौन्दर्य सेवा र एकेडेमीका रूपमा स्थापित यस व्यवसायले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व पनि वहन गरिरहेको छ । हाल यस व्यवसायका माध्यमबाट करिब दुई दर्जन (२४ जना) नेपाली नागरिकले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यसले दक्ष जनशक्ति उत्पादन र आत्मनिर्भरतामा समेत टेवा पुर्याउँदै आएको छ ।







