धादिङबेसी बीचबजारमा रहेको एक होटलमा मःम खाँदा १२ जना ग्राहक गम्भीर बिरामी
233 पटक पढिएको
धादिङ । धादिङबेसी सदरमुकामस्थित नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बीचबजारमा रहेको एक होटलमा मःम खाँदा १२ जना ग्राहक गम्भीर बिरामी परेका छन् । “नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” पसलमा खाजा खाएका व्यक्तिहरूमा स्वास्थ्य समस्या देखिएको हो ।
मःम खाएपछि अचानक बिरामी परेका उनीहरूलाई तत्काल उपचारका लागि धादिङ अस्पताल पुर्याइएको थियो । दुई दिनअघि अस्पताल भर्ना गरिएकामध्ये २ जना सोही दिन डिस्चार्ज भएका थिए भने ६ जनाको अवस्थाका कारण अझै पनि अस्पतालको शय्यामा राखेर उपचार भइरहेको छ । बाँकी बिरामीहरू पनि उपचारपश्चात् घर फर्किसकेका छन् ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. महासेठका अनुसार अस्पतालमा भर्ना भएका बिरामीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य र नियन्त्रणतर्फ उन्मुख रहेको छ ।
मःम खाएर एकैपटक धेरै मानिस बिरामी परेको घटना सार्वजनिक भएलगत्तै जिल्ला अनुगमन समिति धादिङले उक्त क्याफेमा आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा होटलको भान्छा, खाद्य सामग्रीको भण्डारण र सरसफाइमा लापरबाही पाइएको छ ।
अनुगमन समितिले होटल प्रशासनलाई तत्काल सचेत गराउँदै सरसफाइ सुदृढ गर्न र खानेकुराको शुद्धता एवं गुणस्तर कायम गर्न ७ दिनको कडा म्याद (अल्टिमेटम) दिएको छ ।
जिल्ला अनुगमन समितिका सदस्य-सचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीका अनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने होटललाई कानुनी दायरामा ल्याइनेछ ।
अनुगमन समितिले बिरामी परेका सम्पूर्ण १२ जनाकै उपचारमा लागेको सम्पूर्ण खर्च होटल सञ्चालक आफैँले ब्यहोर्नुपर्ने र उपचारमा कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिएको छ । तोकिएको म्यादभित्र सुधार नगरे र निर्देशनको अवज्ञा गरे होटललाई सिल गरी थप कानुनी कारबाही अगाडि बढाइने समितिले जनाएको छ ।
- (एआई तस्बिर)







