धादिङमा रासायनिक मलको चरम अभाव, मागको २७ प्रतिशत मात्र आपूर्ति: संकट समाधानका लागि सांसद श्रेष्ठको पहलमा बैठक
121 पटक पढिएको
धादिङवेशी, २१ असार । धान रोप्ने मुख्य सिजनमै धादिङ जिल्लामा रासायनिक मलको चरम अभाव देखिएको छ। चालु वर्ष जिल्लाका किसानका लागि आवश्यक पर्ने मलको तुलनामा हालसम्म झण्डै २७ प्रतिशत मात्र आपूर्ति हुँदा जिल्लाभर मलको हाहाकार मच्चिएको हो। जिल्लाका १३ स्थानीय तहमा यस वर्ष कुल २ हजार ३ सय ५२ मेट्रिक टन रासायनिक मल आवश्यक रहेकोमा हालसम्म मात्र ६५८ मेट्रिक टन उपलब्ध भएको छ, जसले गर्दा किसानहरू मारमा परेका छन्। जैविक क्षेत्र घोषित रुबी भ्याली गाउँपालिका बाहेक जिल्लाका सबैजसो पालिकामा मलको माग र आपूर्तिबिच ठुलो खाडल देखिएको हो।
जिल्लामा चुलिँदै गएको यही मल संकट र यसको वितरण व्यवस्थापनलाई सुधार्न धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद बोध नारायण श्रेष्ठको समन्वयमा एक भर्चुअल समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी, कृषि विकास कार्यालयका प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख तथा धादिङका १३ वटै स्थानीय तहका कृषि शाखा प्रमुखहरूको सहभागिता रहेको सांसद श्रेष्ठले वताउनु भयो । बैठकमा जिल्लाभर मलको चरम अभाव भएको तथ्यलाई स्वीकार गर्दै यो संकट तत्काल टार्नका लागि संघीय र प्रदेश सरकारसँग उच्च तहमा आवश्यक समन्वय तथा पहल गर्ने निर्णय गरिएको छ।
मलको अभाव सँगसँगै उपलब्ध सीमित मलको वितरणमा हुन सक्ने कालोबजारी र अनियमितता रोक्न समेत बैठकले कडा रणनीति बनाएको छ। अबदेखि ‘फर्टिलाइजर डिस्ट्रिब्युसन मोनिटरिङ सिस्टम’ मार्फत किसानको डिजिटल दर्ता गरेर मात्र मल वितरण गरिनेछ, जसले गर्दा वितरण प्रणाली पारदर्शी हुने विश्वास लिइएको छ। कृषि सामग्री कम्पनी, कृषि विकास कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहबिच नियमित अनुगमन र सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाइएको छ भने मल वितरणमा कुनै पनि प्रकारको अनियमितता वा लापरवाही पाइएमा कानुनबमोजिम कडा कारबाहीका लागि सिफारिस गरिने बैठकले निर्णय गरेको पनि सांसद श्रेष्ठले बताउनु भएको छ ।
बैठकको संयोजन गर्नुभएका सांसद श्रेष्ठले किसानले समयमै मल पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै मल आपूर्ति र वितरणको अवस्थाबारे यस्ता समन्वय बैठकहरू नियमित रूपमा सञ्चालन गरिने बताउनुभयो। उहाँले मल वितरण सम्बन्धी कुनै पनि गुनासो, समस्या वा सुझाव भएमा जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय, सम्बन्धित स्थानीय तह वा आफूलाई सिधै जानकारी गराउन जिल्लाबासी किसानहरूलाई अनुरोध गर्दै किसानलाई मल दिलाउने काममा आफू निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।







