खानेकुरामा किरा भेटिएपछि धादिङमा होटल व्यवसायी संघका केन्द्रीय सचिव र जिल्ला अध्यक्षका होटल कारबाहीमा

243 पटक पढिएको

२३ असार २०८३, मंगलवार ०६:४३ सम्पादक: धादिङ न्यूज

धादिङ, २४ असार । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्ने होटल जिल्ला अनुगमन समितिको कडा कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा गरिएको आकस्मिक बजार तथा होटल अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी चरम लापरबाही गरेको भेटिएपछि ती होटलहरूलाई तत्कालै जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा होटल व्यवसायी संघका केन्द्रीय पदाधिकारी र जिल्ला नेतृत्वकै होटलहरूमा समेत भान्सा तथा फ्रिजभित्र राखिएका खानेकुरामा किरा परेको, बासी, कुहिएको र फोहोर खाना बिक्री भइरहेको जस्ता दयनीय र गम्भीर कैफियत फेला परेको जिल्ला अनुगमन समितिले जनाएको छ ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन र नागरिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्य प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरे लगत्तै धादिङमा यो बजार अनुगमनलाई तीव्र पारिएको हो । मन्त्रालयको सोही निर्देशनपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय आफैँ नेतृत्व लिएर राजमार्गको अनुगमनमा निस्कनुभएको छ ।

अनुगमन टोलीले असार २३ गते सोमबार बेनिघाट रोराङ गाउँपालिका–३ सितलबजारस्थित ब्लु ह्यावन होटललाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त होटलमा बिक्रीका लागि राखिएको खानेकुरा र फ्रिजभित्रका सामग्रीमा किरा देखिएको तथा अत्यन्त फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको पाइएको अनुगमन समितिले जानकारी दिएको छ । यसअघि गरिएको अनुगमनमा समेत कैफियत देखिएकाले यसपटक उक्त होटललाई थप कडा कारबाही गरिएको अनुगमन समितिले जनाएको छ ।

त्यसैगरी होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापाले सञ्चालन गरेको बेनिघाट रोराङ–३ सलाङघाटस्थित सफल होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीका अनुसार सो होटलको फ्रिजभित्र राखिएको खानेकुरामा समेत किरा परेको, सरसफाइ नभएको र जताततै फोहोर भेटिएपछि कारबाही गरिएको हो । यस्तै, जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवाल सञ्चालक रहेको बेनिघाट रोराङ–३ सितलबजारस्थित होटल तीनभाइलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त होटलमा पनि बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको तथा सरसफाइको अवस्था निकै कमजोर भेटिएको अनुगमन टोलीका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीले जानकारी दिनुभयो ।

अनुगमन टोलीले यस अघि गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रमा सञ्चालित मन्दिरा होटल एण्ड रेष्टुरेन्ट र शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्टको खानामा पनि किरा भेटिनुका साथै चरम फोहोर फेला परेकाले ती दुई होटल र थाक्रे गाउँपालिका–७ सातकिलोमा रहेको दिव्यांसी होटल एण्ड लजलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । सरसफाइमा कमजोरी देखिएको भन्दै गल्छीमा सञ्चालित गल्छी खुवा पसललाई २५ हजार रुपैयाँ र धुनिबेसी नगरपालिका वडा नम्बर ७ मा रहेको थकाली भान्छा घरलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश होटलहरूको भान्छा अत्यन्तै फोहोर भएको, फ्रिजमा राखिएका खाद्य वस्तुहरू कुहिएको, म्याद नाघेका खाद्यान्न सामग्रीहरू भान्सामा प्रयोग भइरहेको, डिप फ्रिजभित्र पाकेका खानेकुराहरू अस्वस्थकर तरिकाले भण्डारण गरिएको र धेरैजसो होटलमा मूल्य सूची समेत नभएको पाइएको जनाईएको छ । टोलीले कैफियत भेटिएका सबै व्यवसायीहरूलाई उपभोक्ता संरक्षण ऐनबमोजिम तत्काल जरिवाना तिराउँदै तत्कालै सुधार गर्न सचेत गराएको छ । अर्को पटकको अनुगमनमा समेत सुधार नदेखिएमा योभन्दा थप कडा कारबाही  गर्नेसम्मको चेतावनी दिइएको छ ।

राजमार्गका होटलहरुको बदनामीका कारण सिंगो धादिङ जिल्लाकै प्रतिष्ठामा आँच आउने गरेको जनगुनासो बढेपछि प्रशासनले अनुगमनमा सक्रियता बढाएको हो । आकस्मिक अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख हुमकान्त पाण्डे, पशुसेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, धादिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रमेश अधिकारी तथा राष्ट्रिय उपभोक्ता मञ्च धादिङका अध्यक्ष नारायणलाल श्रेष्ठ लगायतको  सहभागिता रहेको छ ।

गृह मन्त्रालयले अनुगमनलाई प्रक्रियामै सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेमाथि कुनै सम्झौता नगरी कानुनी कारबाही गर्न कडा परिपत्र गरेको छ । साथै, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्क सहितको गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्न र स्थानीयस्तरका समस्या केन्द्र नधाई जिल्लामै समाधान गर्न निर्देशन दिएको छ । मनसुन सुरु भएसँगै सरसफाइको कमीले विभिन्न संक्रामक रोगहरू फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला अनुगमन समिति धादिङले अबका दिनमा राजमार्ग क्षेत्रमा नियमित र कडा आकस्मिक अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।


Honestly, before diving into any site like 8889, remember security first. It’s not just about the games; understanding local rules is key to playing smart. Keep it steady!