मल बिक्रीको विवरण अनलाईन प्रणालीमा प्रविष्टि नगर्ने डिलरलाई कृषि सामग्री कम्पनी गजुरीले मल नदिने
85 पटक पढिएको
गजुरी (धादिङ) । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय गजुरी, धादिङले आफ्नो मातहतका मल विक्रेता (डिलर) हरूलाई रासायनिक मल बिक्रीको विवरण अनिवार्य रूपमा अनलाईन प्रणालीमा प्रविष्टि गर्न निर्देशन दिएको छ।
गजुरी शाखासँग आबद्ध रहेका जिल्लास्थित सम्पूर्ण डिलरहरूले कार्यालयबाट खरिद गरी लगेको रासायनिक मल (युरिया, डीएपी, पोटास र कृषि चुन) तोकिएको क्षेत्रका कृषकहरूलाई बिक्री वितरण गरेपश्चात विवरण बुझाउन ताकेता गरिएको हो। ‘अनुदानको मल वितरण कार्यविधि, २०८२’ बमोजिम अनिवार्य रूपमा अनलाईन मल व्यवस्थापन प्रणाली मा विवरण प्रविष्टि गर्नुपर्ने कम्पनीले जनाएको छ।
यसका साथै, सोही कार्यविधिको अनुसूची ७ बमोजिमको ढाँचामा बिक्री प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहको कृषि विकास शाखाबाट प्रमाणित गराई गजुरी कार्यालयमा पेस गर्न समेत सूचित गरिएको छ।
कम्पनीले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “सो बमोजिम गरेको नपाइएमा यस कार्यालयबाट मल उपलब्ध गराउन बाध्य नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।”
डिलरहरूलाई अनलाईन प्रणालीमा विवरण प्रविष्टि गर्दा कुनै प्राविधिक समस्या भएमा तत्काल शाखा कार्यालयको फोन नम्बर ०१०-४०२०८६ वा मोबाइल नम्बरहरू ९८५१४०६५७३ र ९८५१४०६५७४ मा सम्पर्क गरी समाधान खोज्न समेत कम्पनीले आग्रह गरेको छ।







