धादिङकी महिला नेत्री चेलिमाया तामाङ धनुषामा मृत फेला, मृत्यु रहस्यमय भएको आशंका
619 पटक पढिएको
धादिङ-धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ बगैंचा निवासी ५३ वर्षीया सामाजिक अभियन्ता, महिला नेत्री एवं उद्यमी चेलिमाया तामाङ धनुषाको ढल्केवरमा मृत फेला परेकी छिन्। कुनै कामको सिलसिलामा धनुषाको ढल्केबर पुगेकी तामाङको २०८३ असार २६ गते शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
तामाङको मृत्युको स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन। घरबाट काम विशेषले निस्किएकी एक स्वस्थ र सक्रिय महिलाको यसरी आकस्मिक रूपमा भएको अप्रत्याशित मृत्युलाई स्थानीय तथा शुभचिन्तकहरूले रहस्यमय भएको आशंका गरेका छन्। स्वर्गीय तामाङका दुई छोरा रहेका छन्।
यसैबीच, घटनाको अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मृत्युको कारण खुल्न नसकेको र एक जना व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकाले घटनास्थल पुगेर त्यहाँको वास्तविक अवस्था बुझ्नका लागि परिवारका सदस्यहरू सहित आफू समेत धनुषा प्रस्थान गर्न लागेको गजुरी ७ का वडा अध्यक्ष बद्री जमकट्टेलले धादिङ न्यूजलाई जानकारी दिनुभयो।
उनको शवलाई पोष्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ।
स्वर्गीय तामाङ धादिङको सामाजिक, राजनीतिक र उद्यमशीलताको क्षेत्रमा एक परिचित र आदरणीय नाम हुन्। उनी घरेलु तथा साना उद्योग महासङ्घ धादिङकी कार्यसमिति सदस्य, महिला अधिकारकर्मी र मेधावी साना किसान कृषि सहकारी संस्था लि. गजुरी–७ की अध्यक्ष पदमा बहाल थिइन्। उनले शिक्षा क्षेत्रमा पनि योगदान पुर्याउँदै किराञ्चोक कटुञ्जे माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको पूर्व सदस्यका रूपमा समेत काम गरेकी थिइन्।
राजनीतिक रूपमा उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा ) धादिङको जिल्ला सदस्य तथा गजुरी गाउँपालिका कमिटीको उपाध्यक्षको जिम्मेवारीमा सक्रिय थिइन्। विशेष गरी विपन्न र पिछडिएका महिलाहरूको सशक्तीकरण, उद्यमशीलता विकास तथा आयआर्जन सुधारका लागि उनी सधैँ अग्रपङ्क्तिमा रहेर विभिन्न अभियानहरू सञ्चालन गर्दै आएकी थिइन्।
एक प्रखर महिला नेत्री र सामाजिक अभियन्ताको असामयिक निधनको खबर सार्वजनिक भएपछि धादिङ जिल्ला र विशेष गरी गजुरी क्षेत्र शोकमा डुबेको छ। तामाङको निधन प्रति घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष नवराज छत्कुली, नेकपा एमाले धादिङका सचिव एवम महिला अधिकारकर्मि राधिका सापकोटा गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष डा. सीता ढुङ्गाना, र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रताप सिंह तामाङले गजुरी क्षेत्र र सिङ्गो धादिङलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ।
त्यसैगरी गजुरी वडा नम्बर २ का वडा अध्यक्ष द्रोण कँडेल, पत्रकार एवं सहकारी अभियन्ता राजेन्द्र बस्नेत, किराञ्चोक कटुञ्जे माविका पूर्व प्रधानाध्यापक शिव शंकर यादव, र प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष राजन अधिकारी लगायत सयौँ व्यक्तिहरूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र मृतक तामाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
समाजले एक कुशल, लगनशील र आदरणीय अभिभावक गुमाएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी अविलम्ब सत्यतथ्य बाहिर ल्याउन माग समेत गरिएको छ ।







