नेपाल रेडक्रस सोसाइटी धादिङको ३९ औँ साधारण सभा सम्पन्न
178 पटक पढिएको
धादिङ -नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३९ औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ धादिङवेशीमा सम्पन्न भएको छ। साधारण सभाको विशेष अवसरमा रेडक्रसले मानवीय सेवामा उत्कृष्ट योगदान पुर्याउने स्वयंसेवकहरूलाई सम्मानित एवं पुरस्कृत समेत गरेको छ।
जिल्ला शाखाले यस वर्षको ‘स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार’ नेपाल रेडक्रस सोसाइटी ज्वालामुखी गाउँपालिका शाखा तदर्थ समितिका सदस्य राजु विश्वकर्मालाई प्रदान गरेको छ। विगत २०५० सालदेखि निरन्तर मानवीय सेवा, सामाजिक परिवर्तनको अभियान तथा विभिन्न सामाजिक आन्दोलनहरूमा सक्रिय रहँदै महत्वपूर्ण भूमिका निर्वाह गरेबापत विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी, यस वर्षको ‘स्व. पूर्ण प्रसाद जुनियर स्वयंसेवक पुरस्कार’ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा रहेको चक्रेश्वरी आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थी स्रोत सार्कीलाई प्रदान गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोला रुपाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साधारण सभामा बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाका रेडक्रस सभापतिहरूको विशेष सहभागिता रहेको थियो।
जिल्ला शाखा धादिङका सभापति दुर्लभ तामाङको अध्यक्षतामा सञ्चालित बन्द सत्रमा जिल्ला शाखाका मन्त्री नेमबहादुर श्रेष्ठले संस्थाको प्रगति विवरण तथा आगामी योजनाहरू प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नारायणकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो। पेस गरिएका प्रतिवेदनहरूमाथि व्यापक छलफल गर्दै साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।







