धादिङमा डिपोमा साढे ३ लाख केजी युरिया मौज्दात, दामासाही वितरण गर्दा एउटा वडालाई ६२ बोरा

253 पटक पढिएको

२८ असार २०८३, आईतवार १८:३८ सम्पादक: धादिङ न्यूज

धादिङ- रोपाइँ सकिन लाग्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाएको जनगुनासो र आक्रोश बढिरहेका बेला धादिङको गजुरीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा थप युरिया मल आइपुगेको छ। धादिङमा मलको चरम अभाव भएको चर्चा चलिरहँदा पछिल्लो समय किसानको गुनासोलाई सम्बोधन गर्न प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले देखाएको चासो र समन्वयपछि डिपोमा थप १०० मेट्रिक टन (१ लाख किलोग्राम) युरिया मल भित्रिएको हो। यसअघि २ लाख ३४ हजार ७५० किलोग्राम युरिया मौज्दात रहेकोमा नयाँ परिमाण थपिएसँगै अब गजुरी शाखामा युरियाको कुल मौज्दात ३ लाख ३४ हजार ७५० किलोग्राम पुगेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीले सार्वजनिक गरेको असार २८ गतेसम्मको विवरण अनुसार हाल डिपोमा युरियाबाहेक अन्य मल पनि पर्याप्त मात्रामा सुरक्षित छ। जसमा डीएपी मल १ लाख २४ हजार १०० केजी (१२४.१ मेट्रिक टन), पोटास २ हजार ९०० केजी (२.९ मेट्रिक टन) र कृषि चुन ५२ हजार ९०० केजी (५२.९ मेट्रिक टन) मौज्दात रहेको छ। सबै प्रकारका मल गरी गजुरी शाखामा कुल ५ लाख १४ हजार ६५० किलोग्राम (५१४.६५ मेट्रिक टन) मल मौज्दात रहेको कम्पनीले जनाएको छ। असारको यो मुख्य रोपाइँको सिजनमा युरिया मल थपिएसँगै धादिङका किसानलाई राहत पुग्ने अपेक्षा गरिए पनि वितरण प्रणाली न्यायोचित नहुँदा समस्या बल्झिने देखिएको छ।

कुल मौज्दातलाई जिल्लाका १०४ वटा वडामा दामासाही रूपमा वितरण गर्ने हो भने एउटा वडाको भागमा बढीमा ६२ देखि ६५ बोरा मात्र मल पुग्ने देखिन्छ। यसरी वितरण गर्दा ठूला वडाहरूमा एक जना किसानको भागमा मुस्किलले ५ केजी मात्र मल पर्ने भन्दै किसानहरूले चिन्ता र आक्रोश व्यक्त गरेका छन्। थोरै परिमाणमा प्राप्त हुने मलले खेतीका लागि पर्याप्त नहुने भन्दै किसानहरूले आवश्यकताका आधारमा वैज्ञानिक वितरण प्रणाली अपनाउन माग गरेका छन्।

बजारमा मलको अभाव देखिनु र वितरण फितलो हुनुमा व्यवस्थापकीय कमजोरी मुख्य कारण रहेको पाइएको छ। धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठका अनुसार मल वितरणको जिम्मा पाएका सहकारी र व्यापारीहरूले मल बिक्रीको स्पष्ट विवरण अनलाइन माध्यममा प्रविष्ट नगरेको, कृषि सामग्री कम्पनीबाट समयमै मल उठाउन बेवास्ता गरेको र स्थानीय सरकारले पनि यसमा आवश्यक सहजीकरण नगरेका कारण कृषकले सास्ती भोग्नुपरेको हो। यसका साथै नागरिकहरूले युरिया मल मात्र खोज्ने र विभिन्न बालीका लागि आवश्यक अन्य मलको प्रयोगमा ध्यान नदिँदा पनि बजारमा युरियाको कृत्रिम अभाव जस्तो देखिएको हो। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अब किसानलाई सहज र पारदर्शी रूपमा मल उपलब्ध गराउने अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ।