धादिङकी नेतृ चेलीमायाको स्वयम्भुमा अन्तिम संस्कार

166 पटक पढिएको

२८ असार २०८३, आईतवार १९:३७ सम्पादक: धादिङ न्यूज

धादिङ- दुई दिनअघि धनुषाको ढल्केबरमा मृत अवस्थामा फेला परेकी धादिङकी महिला नेतृ चेलीमाया तामाङको असार २८ गते आइतबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धादिङकी सदस्य, कुशल सहकारीकर्मी, महिला उद्यमी तथा सामाजिक क्षेत्रमा  सक्रिय तामाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा नेकपाका बागमती प्रदेश सह-इन्चार्ज हितमान तामाङ, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेल, प्रदेश संयोजक सरल सहयात्री लगायत केन्द्रीय, प्रदेश, जिल्ला, पालिका र वडा समितिका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले तामाङको राजनीतिक तथा सामाजिक योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राजनीतिक क्षेत्रका साथै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनुभएकी तामाङ नेपाल रेडक्रस सोसाइटी गजुरी गाउँपालिका शाखा तदर्थ समितिकी सचिव एवं किराञ्चोक उपशाखाकी पूर्व सभापति समेत हुनुहुन्थ्यो। उहाँको सामाजिक योगदानको सम्मान गर्दै नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लभ कुमार तामाङले पार्थिव शरीरमा रेडक्रसको झण्डा ओढाएर संस्थागत श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। लामो समयदेखि धादिङको सामाजिक र राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएकी तामाङको असामयिक निधनले जिल्लाको राजनीतिक, सहकारी र सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उपस्थित नेता तथा सामाजिक अभियन्ताहरूले बताएका छन्।

धादिङको गजुरी गाउँपालिका वडा नं. ८ (साविक किराञ्चोक गाविस) स्थायी घर भएकी ५३ वर्षीया चेलीमाया तामाङ केही दिनअघि पारिवारिक  कामको सिलसिलामा मधेश प्रदेशको धनुषा पुग्नुभएको थियो। तर, असार २६ गते धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा उहाँ अचम्मको र रहस्यमय परिस्थितिमा मृत फेला पर्नुभएको थियो। उहाँको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि अचानक भएको यो मृत्युलाई परिवार र पार्टी पङ्क्तिले स्वाभाविक मानेको छैन।

धादिङबाट धनुषा पुग्नुको कारण र उहाँसँग अन्तिम पटक सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचानका लागि इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाले सूक्ष्म अनुसन्धान गरिरहेको जनाईएको छ ।  प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन शवको पोस्टमार्टम रिपोर्ट र मोबाइल लोकेसन तथा कल डिटेल रेकर्ड  लाई मुख्य आधार बनाएर अनुसन्धान अघि बढाएको छ। धादिङका राजनीतिक दल र अधिकारकर्मीहरूले समेत यो घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्न सरकार र गृह प्रशासनसँग जोडदार माग गरेका छन्।