सप्तकोसीमा पानीको बहाव एक लाख ६३ हजार नाघ्यो: कोसी ब्यारेजमा रातो बत्ती बालियो, २१ ढोका खुल्ला

132 पटक पढिएको

३२ असार २०८३, बिहीबार ०८:२९ सम्पादक: धादिङ न्यूज

सुनसरी, ३२ असार । मनसुन सक्रिय भएसँगै पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी लगातारको बर्सात्का कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्ने क्रम जारी छ। बुधबार अबेरको मापन अनुसार कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालका जलधार क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

सप्तकोसी नदीमा पानीको बहाव थपिएपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहर गरी कुल ५६ वटा ढोका रहेका छन्।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सम्भावित जोखिमको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ। हाल पानीको बहाव सो विन्दुभन्दा माथि पुगिसकेकाले ब्यारेजमा रातो बत्ती बालेर आवतजावत गर्ने तथा तटीय क्षेत्रका नागरिकलाई सचेत गराइएको छ।

सुक्खा मौसममा शान्त देखिने सप्तकोसी नदीले वर्षायाम सुरु भएसँगै उग्र रूप लिने गरेको छ। असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने भारी वर्षाका कारण सप्तकोसीसहित यसका सहायक नदीहरूमा पानीको सतह खतराको तह नजिक पुग्ने गर्दछ। नदीमा बहाव बढ्दा आसपासका क्षेत्रमा कटान र डुबानको जोखिम उच्च हुने भएकाले नेपाल र भारत दुवैतर्फका सुरक्षा निकाय तथा प्रशासनिक अधिकारीहरूले यस क्षेत्रलाई विशेष निगरानीमा राख्ने गरेका छन्।

सप्तकोसी नदीमा पूर्वी नेपालका प्रमुख सात नदीहरू- तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावतीको पानी मिसिने गर्दछ। वर्षायाममा यी सबै नदीको बहाव एकैसाथ उर्लिँदा कोसीले विशाल रूप लिने गर्दछ, जबकी सुक्खा समयमा भने नदीका धेरै स्थान बालुवाको बगरमा परिणत हुने गरेको देखिन्छ।

स्थानीय प्रशासनले कोसी नदीको आसपासका तटीय क्षेत्र र टापुमा बसोबास गर्ने सर्वसाधारणलाई नदीमा बाढीको बहाव थप बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन र नदी किनारमा माछा मार्न वा काठ दाउरा संकलन गर्न नजान आग्रह गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय विपद् व्यवस्थापन समिति सम्भावित बाढी र डुबानको उद्धारका लागि ‘अलर्ट’ अवस्थामा रहेका छन्।