पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुला, दुवैतर्फ सवारी सञ्चालन

156 पटक पढिएको

१ श्रावण २०८३, शुक्रबार ०७:२६ सम्पादक: धादिङ न्यूज

धादिङवेशी, १ साउन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोला र तिग्राङखानी क्षेत्रमा खसेको पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग आज बिहानदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। हिजो (बिहीबार) बेलुकी ठुलो पहिरो खसेपछि यो महत्त्वपूर्ण राजमार्गको आवागमन ठप्प बनेको थियो।

राति वर्षा निरन्तर जारी रहनुका साथै थप पहिरो खस्ने क्रम नरोकिएपछि सम्भावित ठुलो क्षति र जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ र चितवनले विशेष सतर्कता अपनाएका थिए। प्रशासनले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्डमा रातीको समयमा सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको थियो।

राजमार्ग असुरक्षित भएपछि काठमाडौँबाट धादिङ हुँदै विभिन्न गन्तव्यका लागि बाहिरिन लागेका सवारीसाधनलाई नागढुङ्गा र थानकोट क्षेत्रमै रोकिएको थियो भने बुटवल र पोखरा तर्फबाट आउँदै गरेका सवारीलाई मुग्लिन आसपासमै रोकिएको थियो। जसका कारण रातभर यात्रुहरू अलपत्र परेका थिए।

सुरक्षाकर्मी, सडक विभागका प्राविधिक र स्थानीय प्रशासनको सक्रियतामा हेभी इक्युपमेन्ट (डोजर र लोडर) प्रयोग गरी पहिरो हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। रातभर रोकिएका सवारीसाधनहरू अहिले पालैपालो आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।

यसैबीच, प्रहरीले मुग्लिन–नारायणगढ सडकखण्डमा पनि हाल सवारी आवागमन निर्वाध रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ। यद्यपि, मनसुन सक्रिय रहेकाले र सडक खण्डका विभिन्न ठाउँमा अझै पनि लेदो खस्ने सम्भावना रहेकाले चालकहरूलाई सचेत भई गाडी चलाउन र यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रशासनले अपिल गरेको छ।