भासिँदै जमिन, बढ्दै पहिरोको खतरा : धादिङको भुलभुले बस्तीमा त्रास

141 पटक पढिएको

२ श्रावण २०८३, शनिबार ०८:२३ सम्पादक: धादिङ न्यूज

धादिङ, २ साउन । सदरमुकाम धादिङबेसीमा वितरणका लागि ल्याइएको खानेपानीको अव्यवस्थित पाइपलाइनका कारण धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुले र तल्लो भुलभुले क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ ।

सदरमुकाममा वितरणका लागि ल्याइएको खानेपानीको पाइप फुट्दा पहिरोको जोखिम बढेको स्थानीयबासीले बताएका छन् । धादिङबेसी खानेपानीको अव्यवस्थित पाइपका कारण जमिन कमजोर भई बस्तीमुनिको भूभाग भासिन थालेको गाउँवासीको भनाइ छ । निरन्तरको वर्षासँगै पाइप फुटेर निस्किएको पानीका कारण जमिन चर्किने, माटो खस्ने र भासिने क्रम बढेपछि सो क्षेत्रका करिब दुई सय घरपरिवार प्रभावित भएका छन् भने विशेष गरी तल्लो भुलभुलेका ४६ घरधुरीका नागरिक कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने उच्च त्रासमा रहेका छन् ।

तल्लो भुलभुलेका स्थानीय बासिन्दाहरू करिब १० वर्षदेखि जोखिम मोलेर बस्दै आएका छन् । खानेपानी पाइपलाइनकै कारण पहिरिने तथा भासिने समस्या हुन थालेपछि उनीहरूलाई आफ्नै थातथलो नै छाड्नु पर्ने बाध्यता रहेको गुनासो छ । गत वर्षहरूमा जोखिम मोलेरै बसेपनि यो वर्षको वर्षायाममा झन् अवस्था गम्भीर बनेको स्थानीय लिला गुरुङले बताइन् । पाइपलाइन फुटेर पानी चुहिँदा जमिन कमजोर बन्दै गएको र सडक किनारमा संरक्षणका लागि राखिएको ग्याबिन जालीसमेत भासिन थालेपछि बस्तीमुनिको भूभाग थप जोखिमपूर्ण बनेको उनको भनाइ छ । बस्तीमाथिबाट पाइपलाइन लैजानुको सट्टा सडकमार्ग हुँदै व्यवस्थापन गर्न पटक–पटक आग्रह गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको गुनासो छ । १० वर्षदेखि यही समस्या भोगिरहेका स्थानीयले सडकबाट पाइपलाइन लैजान आग्रह गर्दा पनि सुनुवाइ नभएको, बस्तीलाई जोखिममा राखेर खानेपानी लगिएको र अब समयमा समाधान नखोजिए ज्यान नै जोखिममा पर्ने बताएका छन् ।

पछिल्लो समय जमिन चर्किने, माटो खस्ने र भासिने क्रम बढ्न थालेपछि तल्लो भुलभुलेबासी उच्च जोखिममा परेको स्थानीय दिपक श्रेष्ठले बताए । नगरपालिका र जिल्ला प्रशासनलाई समस्या थाहा हुँदाहुँदै पनि समाधान हुन नसकेको भन्दै अब बस्तीमुनि सडकबाट मात्र पाइपलाइन लैजानुपर्ने उनीहरूको माग छ । समयमै समाधान नभए जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने चेतावनी स्थानीयले दिएका छन् । स्थानीय दीपक अधिकारीका अनुसार वर्षायाम सुरु भएसँगै जोखिम थप बढेको निरन्तरको वर्षाका कारण भासिएको क्षेत्र विस्तार हुँदै बस्ती नजिकसम्म पुगेको छ । पाइप फुटेर निरन्तर पानी चुहिने समस्याले जमिन कमजोर बनेका कारण अहिले पहिरिने र भासिन थालेको हो । तत्काल समस्या समाधान नभए सबै घर पुरिने जोखिम रहेको र समयमै रोकथाम गर्न नसकिए ठूलो जनधनको क्षति हुन सक्ने देखिएको छ ।

यसअघि पहिरो नियन्त्रण तथा बाढीको जोखिम न्यूनीकरण गर्न नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा करिब ६५ लाख रुपैयाँको लागतमा सो स्थानमा ग्याबिन वाल निर्माण गरिएको थियो । तर खानेपानीको पाइपलाई वैज्ञानिक ढंगले व्यवस्थापन नगरिँदा र फुटेको पाइपबाट निरन्तर पानी बगिरहँदा सडकको कुनामा संरक्षणका लागि लगाइएको उक्त ६५ लाखको ग्याबिन जालीसमेत क्षतिग्रस्त भई बग्न र भासिन थालेको छ । समयमै प्राविधिक रूपमा त्रुटि सच्याएर काम नगरिएका कारण अहिले लाखौंको सरकारी लगानी बालुवामा पानी हालेजस्तै गरी खेर गएको स्थानीयवासीको भनाइ छ । हाल प्रयोग भइरहेको खानेपानीको मुख्य पाइप बस्तीभित्रबाटै लगिएकाले पटक–पटक फुट्ने र पानी जमिनभित्र पसेर माटो बगाउने समस्या देखिएकाले उक्त पाइप तत्काल हटाई व्यवस्थित रूपमा सडकको नालासँगै नयाँ लाइन विस्तार गर्न स्थानीयले माग गरेका छन् ।

भुलभुले क्षेत्रमा गइरहेको पहिरो खसेर तल रहेको अरुङखोला थुनिन सक्ने खतरा समेत उत्तिकै बढेको छ । यदि पहिरोका कारण अरुङखोला थुनिएमा त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो प्राकृतिक विपद् निम्त्याउन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् । तल्लो भुलभुलेका स्थानीय बासिन्दाहरूले नीलकण्ठ नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवाला निकायलाई तत्काल प्राविधिक टोली खटाएर जोखिमको अध्ययन गर्न र भासिएको क्षेत्रमा ग्याबिन जालीको मर्मत तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरी बस्ती सुरक्षित बनाउन जोडदार माग गरेका छन् । स्थानीयले तत्काल प्राविधिक टोली परिचालन गरी जोखिम क्षेत्रको अध्ययन गरी समाधान गर्न, भासिएको स्थानमा थप संरक्षणका काम अघि बढाउन र आवश्यक पूर्वतयारी गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले भुलभुले क्षेत्रमा बस्ती उच्च जोखिममा रहेकोले दीर्घकालीन समाधान खोजिनु पर्ने बताएकी छन् । आफूहरूले स्थलगत रूपमा निरीक्षण गरेर आएको जानकारी दिँदै प्रजिअ गौतमले बस्तीको बीचबाट खानेपानीको पाइपलाइन बिछ्याइएको र कमजोर माटोका कारण जमिन भासिएको बताइन् । फुटेका पाइपलाइनहरू तत्काल जोड्ने र सरोकारवाला निकाय बसेर दीर्घकालीन समाधान खोज्ने उनले प्रतिबद्धता जनाइन् । साथै जोखिम न्यूनीकरणका लागि नीलकण्ठ नगरपालिका, डिभिजन खानेपानी कार्यालय र धादिङबेसी खानेपानी मूल उपभोक्ता समितिसँग आवश्यक समन्वय भइरहेको र पानीका कारण थप क्षति हुन नदिनका लागि तत्कालै कदम चाल्न ध्यानाकर्षण गराइसकेको उनले बताइन् । प्राविधिक अध्ययनका लागि टोलीलाई तुरुन्तै पठाएर खास कारण पहिल्याउन पहल गरिने समेत प्रजिअ गौतमको भनाइ छ ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले पनि समस्या समाधानका लागि सरोकारवाला निकाय र स्थानीयसँग छलफल भइरहेको बताएका छन् । यो लामो समयदेखिको समस्या रहेको स्वीकार गर्दै उनले स्थलगत अनुगमन गरी सम्भावित जोखिम र समाधानका उपायबारे छलफल भइरहेको जानकारी दिए । सकभर छिटो समाधान गर्न आफूहरू र सरोकारवाला निकाय लागिरहेको उपप्रमुख विश्वकर्माले बताएका छन् ।