धादिङ सहित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक, जोखिमयुक्त बस्ती सारेर सुरक्षित राख्न निर्देशन

270 पटक पढिएको

२ श्रावण २०८३, शनिबार १३:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन विशेष निर्देशन जारी गरेको छ । मनसुन प्रणाली थप सक्रिय भई आज शनिबारदेखि आगामी मंगलबारसम्म अति भारी वर्षाको सम्भावना रहेकाले विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको हो ।

प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको उच्च जोखिम रहेको जनाएको छ । जोखिम कम गर्न प्राधिकरणले आज र भोलि अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपील गरेको छ ।

मौसम विभागको चेतावनीपछि पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा गरी २३ जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । परिस्थिति हेरेर जुनसुकै बेला राजमार्गहरू पूर्ण रूपमा बन्द गर्न सकिने प्राधिकरणले प्रस्ट पारेको छ ।

कुनै पनि विपद्को अवस्थामा तत्काल उद्धार र राहत पुर्‍याउन तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल), स्थानीय तह र स्वयंसेवकहरूलाई उच्च तयारी अवस्थामा  रहन भनिएको छ ।

वर्षाका कारण अवरुद्ध हुन सक्ने जोखिमयुक्त राजमार्ग र सडकहरूमा तत्काल बाटो सुचारु गर्नका लागि डोजर, एक्साभेटर र लोडर जस्ता गह्रौँ उपकरणहरू चौबीसै घण्टा तयारी अवस्थामा राख्न प्राधिकरणले निर्देशन दिएको छ ।

जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई विपद् आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत निर्देशन दिइएको छ । विशेष गरी अकस्मात बाढी आउन सक्ने खोला र खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र तथा नदी किनारका बासिन्दाहरूलाई बढी चनाखो रहन आग्रह गरिएको छ ।

 देशका ६७ जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने मुख्य स्थलमार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा विशेष सतर्कता अपनाइएको छ । धादिङ खण्डमा पर्ने चितवनको सिमाना मौवाखोलादेखि नौविसेसम्म र त्रिभुवन राजपथको नागढुङ्गादेखि नौविसेसम्मको क्षेत्र पहिरोको उच्च जोखिममा रहने गर्दछ । दुई वर्षअघि सिस्नेखोलामा पहिरोमा पुरिएर धेरै यात्रुले ज्यान गुमाउनु परेको दुःखद घटनालाई मध्यनजर गर्दै यस पटक मुख्य राजमार्गहरूमा सुरक्षा र बचावटका उपायहरूमा विशेष कडाइ गरिएको छ ।