नारायणगढ–मुग्लिन सडकमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, लेन अनुशासन पालना गर्न आग्रह
128 पटक पढिएको
चितवन, ३ साउन । सुरक्षाको दृष्टिकोणले रातको समयमा बन्द गरिएको नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्ड आज (आइतबार) बिहानैदेखि सञ्चालनमा आएको भए पनि जलविरेमा भएको दुर्घटनाका कारण पुनः अवरुद्ध हुन पुगेको छ।
अविरल वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवन, धादिङ लगायतका स्थानीय प्रशासनहरूले हिजो शनिबार बेलुकी १० बजेदेखि यस सडक खण्डमा सबै प्रकारका सवारीसाधनहरू चलाउन रोक लगाएका थिए। रातभर बन्द रहेको सडक स्थिति सामान्य बनेपछि आज बिहानैदेखि खुला गरिएको थियो।
तर, सडक खुलेको केही समयमै मुग्लिन–नारायणगढ सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठक्कर खाँदा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनाका कारण लामो समयदेखि जाममा परेका र गन्तव्यतर्फ हिँडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
सडकमा सवारीको चाप अत्यधिक रहेको र दुर्घटनाग्रस्त सवारी हटाएर सडक पुनः सञ्चालन गर्ने प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयले लामो जाम र सडकको अवस्थालाई ध्यानमा राख्दै हतार नगरी, सीमित गतिमा र अनिवार्य रूपमा लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन सबै चालकहरूलाई विशेष अनुरोध गरेको छ।
प्रहरी तथा प्राविधिक टोली दुर्घटनास्थलमा पुगिसकेकाले केही समयभित्रै अवरोध हटाई सडक एकतर्फी वा दुवैतर्फ सुचारु गरिने बताइएको छ।







