ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले साउन १३ गते दुई प्रतिष्ठित पुरस्कार समर्पण गर्ने
186 पटक पढिएको
काठमाडौँ, ३ साउन । धादिङ जिल्लाको समग्र शैक्षिक तथा सामाजिक विकासका लागि क्रियाशील ‘ठाकुरप्रसाद शर्मा प्रतिष्ठान’ कार्यसमितिको बैठक विशेष निर्णयहरू गर्दै सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलको अध्यक्षतामा बसेको उक्त बैठकले दुई प्रतिष्ठित पुरस्कार समर्पण गरिने समारोहको मिति र स्थान तय गरेको हो।
बैठकको निर्णयअनुसार साउन १३ गते गुरु पूर्णिमाको पावन अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा एक विशेष समारोहको आयोजना गरिनेछ। उक्त कार्यक्रममा शिक्षा र साहित्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।
समारोहमा यस वर्षको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार’ र ‘दुर्गा रिमाल साहित्य पुरस्कार’ समर्पण गरिने कार्यसमितिको निर्णय छ। प्रतिष्ठानका अनुसार पुरस्कार प्राप्त गर्ने स्रष्टा एवं व्यक्तित्वहरूको नाम छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको र चाँडै नै नाम घोषणा गरिनेछ।
धादिङको गजुरीमा २०२५ सालमा स्थापना भएको जिल्लाकै पहिलो माध्यमिक विद्यालय ‘आदर्श हाईस्कुल’ का संस्थापक प्रधानाध्यापक (हेडमास्टर) एवं पूर्वमन्त्री हुनुहुन्छ, ७८ वर्षीय ठाकुरप्रसाद शर्मा। उहाँले उक्त विद्यालयमा १७ वर्षसम्म प्रधानाध्यापक पदको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो। पछि पेन्सन समेत नलिई स्थायी दरबन्दीको जागिर छाडेर उहाँले शैक्षिक क्षेत्रमा उदाहरणीय योगदान पुर्याउनुभएको थियो। उहाँकै सम्मान र आदर्शलाई जीवन्त राख्न पूर्व विद्यार्थीहरूको सक्रियतामा यो प्रतिष्ठान स्थापना गरिएको हो।
धादिङ जिल्लाको शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद तथा पत्रकारिता क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको यो प्रतिष्ठान संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय धादिङमा (दर्ता नम्बर १८६०) दर्ता भएको छ। यसको मुख्य कार्यालय गजुरी गाउँपालिका वडा नम्बर १, गजुरी बजारमा रहेको छ ।
प्रतिष्ठानले शर्माको सम्मान र शैक्षिक उन्नयनका लागि विभिन्न ६ विधामा पुरस्कार स्थापना गरेको छ, जसलाई हरेक वर्ष वितरण गरिने प्रतिष्ठानका अध्यक्ष डा. कँडेलले जानकारी दिनुभयो। स्थापित पुरस्कारहरू यस प्रकार छन्: १. ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार (राष्ट्रिय स्तर) २. आदर्श शिक्षक पुरस्कार (धादिङ जिल्ला स्तर) ३. आदर्श शिक्षासेवी पुरस्कार (धादिङ जिल्ला स्तर) ४. दुर्गा रिमाल अधिकारी साहित्य पुरस्कार (धादिङ जिल्ला स्तर) ५. आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार (आदर्श मावि स्तर) ६. आदर्श उत्कृष्ट छात्रा पुरस्कार (आदर्श मावि स्तर)रहेको छ ।
स्वतन्त्र शैक्षिक अनुसन्धान तथा लेखन कार्यमा संलग्न डा. सदानन्द कँडेलको अध्यक्षतामा प्रतिष्ठानको ११ सदस्यीय कार्यसमिति कार्यरत छ। जसको उपाध्यक्षमा महेन्द्रकुमार शर्मा, महासचिवमा कृष्णराज सिलवाल, सचिवमा भवानीकुमारी उप्रेती र कोषाध्यक्षमा शिवप्रसाद अधिकारी रहनुभएको छ। सदस्यहरूमा रामशरण त्रिपाठी, अर्जुनकुमार श्रेष्ठ, सरस्वती खतिवडा, देवकी तिमल्सिना, राजकुमार खरेल र लक्ष्मी गिरी हुनुहुन्छ।
त्यस्तै, प्रतिष्ठानलाई थप व्यवस्थित बनाउन राजेन्द्रप्रसाद पाण्डे, रुकु कार्की, जगन्नाथ तिमल्सिना, प्रविण शर्मा र पुरुषोत्तमप्रसाद अधिकारी रहनुभएको एक सल्लाहकार समिति रहेको छ ।
गुरु पूर्णिमाका दिन काठमाडौँमा हुने उक्त विशेष समारोहमा देशका प्रतिष्ठित शिक्षाविद्, साहित्यकार, राजनीतिज्ञ तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ। आफ्ना गुरुको अतुलनीय योगदानलाई जीवन्त राख्न पूर्व विद्यार्थीहरूले चालेको यो कदमलाई धादिङ जिल्लाभर निकै सकारात्मक रूपमा हेरिएको छ।








https://shorturl.fm/KbmL9
https://shorturl.fm/nWka3