साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ यसको धार्मिक र सांस्कृतिक महिमा

165 पटक पढिएको

४ श्रावण २०८३, सोमबार ०७:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूका लागि साउन महिना र यसका सोमबारहरू अध्यात्म र संस्कृतिका दृष्टिले विशेष महत्त्वपूर्ण रहने गर्दछन् । आजका दिन बिहानैदेखि देशका विभिन्न प्रसिद्ध शिवालयहरूमा जल चढाउने र पूजा आराधना गर्ने भक्तजनहरूको विशेष भिड लाग्ने गर्छ । हिन्दु परम्परा र पौराणिक ग्रन्थहरूका अनुसार साउन महिनालाई भगवान् शिवको सबैभन्दा प्रिय महिना मानिन्छ, जसका कारण यस महिनाका प्रत्येक सोमबारलाई पवित्र धार्मिक उत्सवका रूपमा मनाउने गरिन्छ ।

साउने सोमबारलाई विशेष गरी हिन्दु महिलाहरूले आफ्नो जीवनको एक विशिष्ट धार्मिक र सांस्कृतिक पर्वका रूपमा लिने गर्दछन् । विवाहित महिलाहरूले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र सुखद दाम्पत्य जीवनको कामना गर्दै तथा अविवाहित युवतीहरूले सुयोग्य वर प्राप्तिको अभिलाषाका साथ यो व्रत बस्ने परम्परा छ । साउने सोमबारका दिन श्रद्धापूर्वक निराहार व्रत बसी शिवजीको पूजा आराधना गर्दा सम्पूर्ण मनोकांक्षा पूरा हुने दृढ धार्मिक विश्वास रही आएको छ । यस दिन शिवजीको उपासना गर्नाले आफू र आफ्नो परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायु छाउने जनविश्वास छ ।

धार्मिक ग्रन्थहरूका अनुसार भगवान् शिवलाई सोमबारको स्वामी अर्थात् देवता मानिन्छ । ‘सोम’ को अर्थ चन्द्रमा पनि हुन्छ, जसलाई भगवान् शिवले आफ्नो शिरमा भूषणका रूपमा धारण गर्नुभएको छ । त्यसैले यो दिन मानसिक शान्ति र आध्यात्मिक चेतना जागृत गर्नका लागिसमेत उत्तम मानिन्छ । साउन महिनामा प्रकृतिले नयाँ रूप फेर्ने, जताततै हरियाली छाउने र वर्षाको सुखद आगमन हुने भएकाले यसलाई प्रकृति र पुरुष अर्थात् शिवको मिलनको रूपमा पनि सांस्कृतिक व्याख्या गरिन्छ । यही प्रकृतिको हरियालीलाई आत्मसात् गर्दै महिलाहरूले साउन महिनाभर हरियो, पहेंलो र रातो रंगका वस्त्र, चुरा तथा मेहेन्दी लगाएर उत्सव मनाउने गर्छन्, जसले नेपाली समाजमा एउटा बेग्लै र सुन्दर सांस्कृतिक रौनक थप्ने गरेको छ ।

साउने सोमबारको दिन भगवान् शिवलाई प्रसन्न पार्न शुद्ध जल, दूध, मह, धतुरो र विशेष गरी बेलपत्र चढाउने शास्त्रीय विधान छ । ‘एकं शिवार्पणं महत्’ अर्थात् शिवलाई चढाएको एउटै बेलपत्रले पनि ठुलो पुण्य मिल्छ भन्ने मान्यता छ । पौराणिक कथाअनुसार समुन्द्र मन्थनका क्रममा निक्लिएको संसारलाई नै नष्ट गर्न सक्ने कालकुट विष पिएर ब्रह्माण्डको रक्षा गर्नुभएका शिवको शरीरको जलन शान्त पार्नका लागि देवताहरूले शीतल जल अर्पण गरेको र बेलपत्र चढाएका थिए । सोही ऐतिहासिक र पौराणिक घटनाको स्मरण गर्दै साउनको गर्मी र वर्षाको समयमा शिवलाई शीतल जल र बेलपत्र चढाउने परम्परा बसेको हो । हिन्दु धर्ममा साउन महिनालाई विशुद्ध रूपमा धर्मकर्म, दान र उपासनाको महिना मानिन्छ ।

शिव महापुराण लगायतका पौराणिक ग्रन्थहरूमा मुख्य तीन प्रकारका सोमबार व्रतको विशेष चर्चा पाइन्छ, जसमा साउने सोमबार, सोलह सोमबार र सोम प्रदोष पर्दछन् । यी व्रतहरूको विधि अन्य सामान्य व्रतजस्तै भए पनि यसको आध्यात्मिक प्रभाव गहिरो मानिन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर दिनको तेस्रो प्रहरसम्म बस्ने नियम छ । दिनको तेस्रो प्रहर अर्थात् करिब दिउँसो तीन बजेतिर भगवान् शिव र माता पार्वतीको विशेष पूजा-अर्चना गरी व्रतको कथा श्रवण गर्ने चलन छ । व्रत बसेको दिन बेलुकाको समयमा भगवान् शिवको आरती पश्चात् एकपटक मात्र नुन नहालेको सात्विक वा फलाहार भोजन ग्रहण गर्नुपर्छ, जसले शरीर र मन दुवैलाई पवित्र तुल्याउँछ । यसरी नियमपूर्वक व्रत बस्दा जीवनमा आइपर्ने सम्पूर्ण सांसारिक समस्या र बाधाहरू हटेर जाने जनविश्वास छ ।

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भन्नुभएको छ, ‘मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।’ जब सूर्य कर्कट राशिमा प्रवेश गर्दछ, तब साउन महिनाको सुरुवात हुन्छ । सूर्य दक्षिणायन हुँदा चन्द्रमाको शक्ति बढ्ने र चन्द्रमाको शीतलता शिवलाई प्रिय लाग्ने भएकाले पनि साउन महिना शिवको उपासनाका लागि सर्वोत्कृष्ट भएको शास्त्रीय मान्यता छ । यसरी साउने सोमबार केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई मानव, प्रकृति र ईश्वरबीचको सामीप्य दर्शाउने एक महान् सांस्कृतिक उत्सव हो, जसले नेपाली समाजमा परापूर्वकालदेखि आपसी सद्भाव, पारिवारिक सुख र आध्यात्मिक ऊर्जाको निरन्तर सञ्चार गर्दै आएको छ ।