२९७ सदस्यीय जम्बो कार्यसमिति बनाउँदै कांग्रेसको विधान पास, भोलि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै

18 पटक पढिएको

१९ आश्विन २०८३, सोमबार १९:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा जारी बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित गरेको छ। निर्वाचन प्रक्रिया अगाडि बढाउने हतारोमा सोमबार नै यो विधान जबरजस्ती पास गरिएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले दिएको जानकारीअनुसार यो संशोधनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय जम्बो बन्ने भएको छ। नयाँ विधानअनुसार अब पार्टीमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला अनिवार्यसहित चार उपसभापति र एक महिला अनिवार्यसहित तीन महामन्त्री रहनेछन्। त्यस्तै सह-महामन्त्रीको संख्या बढाएर १५ पुर्‍याइएको छ भने कोषाध्यक्ष केन्द्रीय सदस्यबाट एकजना चयन हुनेछन्। प्रवक्ता र सहप्रवक्ता पनि एक/एक जना रहने व्यवस्था गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र खुला महिलाबाट १५ जना निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट एक महिलासहित चारजना र काठमाडौं उपत्यकाबाट एक महिलासहित दुईजना केन्द्रीय सदस्य रहनेछन्। समावेशी क्लस्टरतर्फ आदिवासी जनजातिबाट आठ महिलासहित २०, खस आर्यबाट आठ महिलासहित १८, दलितबाट पाँच महिलासहित १४ र मधेसीबाट पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन्। यसैगरी जनसम्पर्क समितिबाट दुई महिलासहित सात, थारूबाट दुई महिलासहित छ, पेसागत विज्ञबाट दुई महिलासहित सात, पिछडिएको क्षेत्रबाट तीन र श्रमिकबाट एक महिलासहित तीनजना केन्द्रीय सदस्य चुनिनेछन्।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ युवा, अपाङ्गता भएका व्यक्तिबाट एक र प्रजातन्त्र सेनानीबाट तीनजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। यीबाहेक केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य आफ्नो खुसीले मनोनयन गर्ने अधिकार पनि यो विधानले दिएको छ। विधान आजै पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबार बस्ने बन्द सत्रले पारित गर्नेछ। मंगलबार बिहान १० बजेबाटै महाधिवेशनको उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुने भएकाले निर्वाचनको बाटो खुलाउनकै लागि हतार-हतार विधान पारित गरिएको कांग्रेसले जनाएको छ।