बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

189 पटक पढिएको

५ श्रावण २०८३, मंगलवार २१:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । केन्द्रमा विकसित नयाँ राजनीतिक घटनाक्रम र सत्ता समीकरणमा आएको फेरबदलका कारण नेकपा (एमाले) वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार (साउन ५ गते) औपचारिक जानकारी गराउँदै पार्टी सरकारबाट अलग भएको र एमालेका तर्फबाट सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने स्पष्ट पार्नुभयो।

“हामी सरकारबाट बाहिरियौँ। भोलि मन्त्रीहरूले राजीनामा बुझाउनुहुन्छ। मिल्न सक्ने शक्तिसँग मिलेर नयाँ सरकार गठन हुन्छ। नेकपासँग हाम्रो सहकार्य हुन्छ,”

जगन्नाथ थपलिया, नेता, एमाले वाग्मती प्रदेश संसदीय दल

स्रोतका अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता थपलियालाई गुण्डुस्थित निवासमा बोलाएर प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिनुभएको थियो। केन्द्रीय नेतृत्वको निर्देशनलगत्तै काठमाडौँमा बसेको एमाले संसदीय दलको छलफलले सरकार छाड्ने र समर्थन फिर्ता लिने अन्तिम तयारी गरेको हो।

वाग्मती प्रदेश सरकारले भर्खरै नयाँ आर्थिक वर्षको सुरुआतसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ मा सीमित गरेको थियो। मन्त्रालय घटाइएपछि एमालेका ६ जना मन्त्रीमध्ये केही बिनाविभागीय बन्न पुगेका थिए।

सरकारबाट बाहिरिने निर्णयसँगै एमालेका ६ जना मन्त्रीहरू—डा. दिनेशचन्द्र देवकोटा, मधुसूदन पौडेल, बिन्दु श्रेष्ठ, किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको वाग्मती प्रदेश सरकार स्पष्ट अल्पमतमा पर्ने निश्चित भएको छ। ११० सदस्यीय वाग्मती प्रदेश सभामा एमालेका २५ सिट रहेका छन्।

एमालेले सरकार छाडेसँगै नेकपासहितका अन्य साना राजनीतिक शक्तिहरूसँग मिलेर नयाँ गठबन्धन र नयाँ सरकार गठनका लागि पहल तीव्र बनाइने जनाएको छ। एमालेको यो बहिर्गमनसँगै वाग्मती प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ।