स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडा नियम: नातेदार राख्न नपाइने, खुला प्रतिस्पर्धा अनिवार्य

168 पटक पढिएको

८ श्रावण २०८३, शुक्रबार ११:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति, व्यवस्थापन र पारिश्रमिक सम्बन्धी कडा एवं विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशन अनुसार स्वकीय सचिव पदमा सांसदका एकाघरका सदस्य वा नजिकका नातेदार नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

संसद् सचिवालयको मापदण्ड अनुसार कम्तीमा स्नातक तह उत्तीर्ण, प्रविधिमैत्री र अनुसन्धान क्षमता भएका व्यक्तिलाई खुला प्रतिस्पर्धा तथा सार्वजनिक आह्वानमार्फत मात्र छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, छनोट प्रक्रियामा महिला, सीमान्तकृत र पिछडिएका वर्गलाई प्राथमिकता दिनुपर्ने तथा अन्तिम नियुक्तिका लागि संसदीय दलको स्वीकृति अनिवार्य गरिएको छ। स्वकीय सचिवको पारिश्रमिक सिधै बैंक खातामा जम्मा हुने र पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा वा हिनामिना गरेमा गम्भीर अनुशासनहीनता मानी अनुशासन समितिमार्फत कडा कारबाही गरिने रास्वपाले स्पष्ट पारेको छ।