आज केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

91 पटक पढिएको

१० श्रावण २०८३, आईतवार ०७:०९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १० साउन  देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेशको तराई भूभागमा मुख्यतया मौसम सफा रहे तापनि देशका बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बिहानैदेखि कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाको मौसमी विश्लेषण अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याइएको छ। त्यसैगरी बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वाभ्यास गरिएको छ। विशेष गरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली नै रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। तराई क्षेत्रका केही स्थानमा पनि रातिको समयमा मध्यम वर्षाको सम्भावना देखिएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा पुन: भारी वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हुने भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च रहने भएकाले नदी तटीय र भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना छ।

विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई सतर्क रहन र जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरको टोल-फ्री सेवा तथा आधिकारिक सूचना च्यानलमार्फत पछिल्लो मौसमी स्थितिबारे नियमित अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।