बाढी-पहिरोले देशका मुख्य सडक तथा राजमार्ग अवरुद्ध

109 पटक पढिएको

१० श्रावण २०८३, आईतवार ०७:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १० साउन अविरल वर्षाका कारण आएको बाढी, पहिरो र नदी कटानले देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी तथा सडक विभागले दिएको पछिल्लो अद्यावधिक जानकारी अनुसार मनसुनी विपद्का कारण बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य सडक सम्पर्क प्रभावित बनेका छन्।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गमा बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै खुर्कोट-नेपालथोक-कटुन्जे बेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा लगाइएको रोक कायमै राखिएको छ। यस्तै, काठमाडौँलाई जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्मका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत बन्द गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीस्थित सडकमा लेदो र हिलो थुप्रिएपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा ठूलो पहिरो खसेकाले चीन जोड्ने यो सडकखण्ड पनि ठप्प बनेको छ।

यसैगरी, लामासाँघु-रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा प्रभावित भएको छ। त्यहाँ खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्गमार्फत साना सवारी साधन सञ्चालनमा ल्याइएको छ। पासाङ ल्हामु सडक खण्ड र गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडकखण्डमा पहिरो खस्दा रसुवागढी नाकातर्फको आवतजावत ठप्प भएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ घ्याकर खोलामा जलसतह अत्यधिक बढेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध छ।

यसैबिच, सडक विभाग, नेपाल प्रहरी र स्थानीय निकायका डोजर तथा जनशक्ति परिचालन गरी अवरुद्ध सडक खण्डहरू सफा गर्ने र वैकल्पिक मार्ग खोल्ने प्रयास निरन्तर जारी राखिएको छ। यद्यपि, निरन्तर वर्षा र गेग्रान खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन केही स्थानमा चुनौती थपिएको छ। जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको सडकको अवस्थाबारे जानकारी लिन र जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।