धादिङमा स्क्र्याप व्यवसायी संघ गठन: ध्रुव कोइरालाको अध्यक्षतामा ७ सदस्यीय समिति
163 पटक पढिएको
धादिङ । धादिङ जिल्लाभर रहेका स्क्र्याप (कवाड) व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूको हकहित संरक्षणका लागि ‘स्क्र्याप व्यवसायी संघ, धादिङ’ गठन गरिएको छ।
गजुरीमा साउन १० गते आयोजित व्यवसायीहरूको भेलाले ध्रुव कोइरालाको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा सुशान्त शर्मा, सचिवमा दिल बहादुर रम्तेल तथा कोषाध्यक्षमा प्रेमचन्द्र शाह कलावर चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा रामबहादुर रोक्का, मन्टु साह रौनियार र प्रदिप साह रहनुभएको छ।
नवनिर्मित संघले व्यवसायीहरूको हकहितका निम्ति काम गर्ने, संस्थालाई कानुनी रूपमा दर्ता गरी जिल्लाभरका व्यवसायीहरूलाई छाता संगठनमा आबद्ध गराउने, पेसागत सुरक्षा प्रदान गर्ने तथा व्यवसायमा स्वच्छता र पारदर्शिता कायम गर्न पहल गर्ने उद्देश्य राखेको छ।
अध्यक्ष कोइरालाका अनुसार जिल्लाभर हाल संगठित रूपमा ४५ जना स्क्र्याप व्यवसायीहरू कार्यरत रहेका छन्। संघले छिट्टै नै जिल्लास्तरीय बृहत् सम्मेलनको आयोजना गर्नेसमेत निर्णय गरेको छ।







