तमोर करिडोरको फलामेटारमा ट्रक दुर्घटना पछि आगलागी, एक जनाको जलेर मृत्यु

120 पटक पढिएको

१२ श्रावण २०८३, मंगलवार ०६:५९ सम्पादक: धादिङ न्यूज

धनकुटा। तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा सोमबार राति ट्रक दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएपछि भीषण आगलागी भएको प्रहरीले जनाएको छ।

धनकुटाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक  नारायण रञ्जितकारका अनुसार दुर्घटनालगत्तै ट्रकमा सल्किएको आगोमा परेर एक जनाको घट्नास्थलमै मृत्यु भएको हो। मृतक ट्रकका चालक हुन् वा अन्य व्यक्ति भन्नेबारे औपचारिक पुष्टि भइसकेको छैन भने निजको नाम, थर र ठेगाना पनि खुल्न बाँकी रहेको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फलामेटारबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। घटनाको थप अनुसन्धान र वस्तुस्थिति बुझ्न जिल्ला प्रहरी कार्यालय धनकुटाबाट एसपी रञ्जितकारको कमान्डमा थप प्रहरी टोली पनि घटनास्थलमा खटिएको छ।