जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेशको अध्यक्षमा धादिङका नवराज अधिकारी सर्वसम्मत

208 पटक पढिएको

१२ श्रावण २०८३, मंगलवार ११:५५ सम्पादक: धादिङ न्यूज

धादिङ। जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिको द्वितीय भेलाले धादिङका नवराज अधिकारीको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। केन्द्रीय महासङ्घका पदाधिकारीहरू तथा बागमती प्रदेशका विभिन्न जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको उपस्थितिमा साउन ११ गते सोमवार सम्पन्न भेलाले प्रदेश समितिको पुनर्गठन गर्दै नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा चितवनकी सबिता चौधरी, सचिवमा ललितपुरका दिनेश घोरासैनी, सह-सचिवमा नुवाकोटकी सम्झना सेढाई र मकवानपुरकी तारा ढुङ्गाना तथा कोषाध्यक्षमा भक्तपुरका विश्वराम त्वानाबासु निर्वाचित हुनुभएको छ।

त्यस्तै, कार्यसमितिको सदस्यहरूमा दोलखाकी कल्पना थामि, भक्तपुरकी बिन्दु के.सी., काठमाडौँकी सपना परियार, रसुवाका खुवा प्रसाद पौडेल, भक्तपुरकी राममाया मिजार, काभ्रेकी रश्मिता भण्डारी, दोलखाका डोर्जी शेर्पा, नुवाकोटका रामचन्द्र पौडेल, मकवानपुरका सुवर्ण गोपाली र सिन्धुपाल्चोकका पदमनाथ नेपाल निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष नवराज अधिकारीले बागमती प्रदेशका सबै जिल्ला समन्वय समितिहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय शासनलाई परिणाममुखी बनाउन महासङ्घले प्रभावकारी समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै उहाँले प्रदेशका सबै जिल्लाको साझा हित र विकासका लागि सक्रियतापूर्वक अघि बढ्ने बताउनुभयो।

नयाँ नेतृत्व चयन भएसँगै बागमती प्रदेशभित्रका जिल्ला समन्वय समितिहरूबीचको आपसी सम्बन्ध थप मजबुत हुने र स्थानीय विकास, सुशासन एवम् संस्थागत क्षमता अभिवृद्धिमा महासङ्घले अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।