आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

120 पटक पढिएको

१३ श्रावण २०८३, बुधबार ०६:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, देशभर आफूलाई शिक्षा, दीक्षा प्रदान गर्ने गुरूप्रति उच्च श्रद्धाभाव प्रकट गरी भव्य रूपमा मनाइँदै छ। सनातन धर्मग्रन्थ तथा तन्त्रशास्त्रमा अज्ञानरूपी अन्धकारलाई नाश गरी ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तित्वलाई गुरु भनिएको छ। गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा उच्च स्थान दिँदै ‘आचार्यदेवो भव’ को भावनाका साथ आजको दिनलाई गुरु पूजा र सम्मानका रूपमा विशेष मनाउने परम्परा रहँदै आएको छ।

 गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः। 

गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। 

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।

आजकै शुभ तिथिमा धर्मग्रन्थ महाभारतका रचयिता एवं वेदलाई चार भागमा विभाजन गर्ने महर्षि वेदव्यासको जन्मजयन्ती पनि व्यास जयन्तीका रूपमा मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाकै दिन जन्मिएका वेदव्यासले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको वर्गीकरण गर्नुका साथै सर्वसाधारणका लागि ज्ञान सहज बनाउन १८ पुराण र १८ उपपुराणको रचना गर्नुभएको थियो। व्यासले पुराणहरूका माध्यमबाट अरूको उपकार गर्नु नै धर्म हो र अरूलाई पीडा दिनु नै पाप हो भन्ने मूल मानवतावादी सन्देश प्रवाह गर्नुभएको छ।

गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा आज देशभरका गुरुकुल, विद्यालय, विभिन्न शिक्षालय एवं धार्मिक तथा सामाजिक सङ्घसंस्थाले विशेष कार्यक्रमको आयोजना गरेका छन्। गायत्री मन्त्र, दीक्षा र ज्ञान प्रदान गर्ने गुरुजनलाई स्मरण गर्दै उहाँहरूप्रति आदर र कृतज्ञता व्यक्त गर्नका लागि शिष्यहरू गुरुसामु पुगेर आशीर्वाद लिने क्रम आज बिहानैदेखि उत्साहका साथ भइरहेको छ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्। 

परोपकार पुण्याय, पापाय परपीडनम्’ ।। 

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्।

यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरुपूर्णिमा पर्व मनाइँदै छ।