करिब २ अर्बको अवैध हुन्डी कारोबार गर्ने धादिङका राजेन्द्र रिजाल पक्राउ
172 पटक पढिएको
काठमाडौँ। व्यक्तिगत बैंक खाताको प्रयोग गरी करिब २ अर्ब रुपैयाँ बराबरको ठूलो परिमाणमा अवैध हुन्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धादिङका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी गाविस-८ (हाल खनियाबास गाउँपालिका) स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका-८ मा बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन्। पेशाले भाँडा पसले रहेका रिजाललाई सीआईबीको टोलीले नागार्जुन-८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार केही व्यक्तिले संगठित रूपमा अवैध हुन्डी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा शंकास्पद खाताहरूको विश्लेषण गर्दा रिजालको संलग्नता खुलेको हो। प्रारम्भिक अनुसन्धान र बैंकिङ कारोबारको सुक्ष्म विश्लेषणका क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा गैरकानुनी रूपमा रकम ओसारपसार गरेको भेटिएको छ। उनको खाताबाट १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रूपैयाँ बराबरको रकम हुन्डीमार्फत कारोबार भएको सीआईबीले पुष्टि गरेको छ।
अनुसन्धानका क्रममा रिजालको यो हुन्डी सञ्जाल रसियासम्म जोडिएको तथ्य बाहिर आएको छ। सीआईबीका अनुसार रसियामा रहेका उनका भाइ र बुहारीसमेत यस गिरोहमा सक्रिय रहेको पाइएको छ।
“रसियामा भाइ–बुहारीले उतैबाट पैसा बुझ्ने र यता रिजालले काठमाडौंका सर्वसाधारणलाई पैसा तिर्ने गरेको देखियो,” सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले धादिङ न्यूजसँग भन्नुभयो, “रिजाल लामो समयदेखि हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ।”
रिजालले आफ्ना १० वटा विभिन्न बैंकका खाताहरू प्रयोग गरेर लगातार रकम झिक्ने र भुक्तानी गर्ने गरेको बैंकिङ ट्रान्जेक्सनबाट देखिएको प्रहरीले जनाएको छ। उनी लामो समयदेखि शंकाको घेरामा रहेको र सीआईबीले उनको आर्थिक गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेको थियो।
काठमाडौँ जिल्ला अदालतबाट ‘हुन्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा पक्राउ अनुमति लिएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।
औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता हुन्डी कारोबारले विदेशी मुद्रा अपचलन, राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर वित्तीय अपराधलाई प्रोत्साहन गर्ने सुरक्षा अधिकारीहरू बताउँछन्। यति ठूलो रकमको कारोबार भएकाले सीआईबीले रिजालको खातामा रकम पठाउने र प्राप्त गर्ने अन्य शंकास्पद व्यक्ति तथा संस्थाहरूको विवरण समेत केलाइरहेको छ। हुन्डी सञ्जालमा संलग्न अन्य मुख्य योजनाकार र लाभग्राहीहरूको खोजीका लागि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








https://shorturl.fm/UDEsY