सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई हातपात गरेको आरोपमा विशाल गिरी पक्राउ

121 पटक पढिएको

१३ श्रावण २०८३, बुधबार २१:५४ सम्पादक: धादिङ न्यूज

धादिङ। सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर–१ का क्षेत्रीय प्रतिनिधि तथा नेपाल तरुण दल क्षेत्र नम्बर–१ का सभापति विशाल गिरी (रुद्रबहादुर) प्रहरी नियन्त्रणमा परेका छन्। अध्यक्ष खतिवडाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई नियन्त्रणमा लिएको हो।

गत असार ३२ गते सिद्धलेक गाउँपालिका–५ बुङचुङस्थित नेपाली कांग्रेस गाउँपालिका समितिको बैठक चलिरहेको समयमा अध्यक्ष खतिवडामाथि हातपात भएको थियो। घटनालगत्तै साउन १ गते अध्यक्ष खतिवडाले आफूमाथि हातपात, दुर्व्यवहार तथा अङ्गभङ्गको प्रयास गरिएको भन्दै चिकित्सकद्वारा गरिएको घाउजाँच (केस फाराम) सहित गिरीविरुद्ध कारबाहीको माग गर्दै औपचारिक जाहेरी दिएका थिए।

सोही जाहेरीका विषयमा जानकारी लिन साउन १२ गते नेपाली कांग्रेसका जिल्ला नेताहरूसहित जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका गिरीलाई बेलुका ५ बजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको दिन सरकारी कार्यालय समय सकिइसकेकाले प्रहरीले साउन १३ गते जिल्ला प्रशासन कार्यालय धादिङमा पेस गरी अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ।

गिरी प्रहरी कार्यालयमै आफैं उपस्थित भएको र त्यहींबाट नियन्त्रणमा लिइएको भए पनि जिल्ला प्रहरी कार्यालय धादिङले साउन १३ गते जारी गरेको प्रेस नोटमा भने उनलाई “नीलकण्ठ नगरपालिका–३ बाट फरार अवस्थामा पक्राउ गरिएको” उल्लेख छ।

यसरी यथार्थ लुकाएर आफैं उपस्थित भएका व्यक्तिलाई ‘फरार अभियुक्त’का रूपमा प्रचार गरिएकोमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव श्रीराम खतिवडाले कडा आपत्ति जनाउँदै आश्चर्य व्यक्त गरेका छन्।

“आफूमाथि परेको उजुरीबारे बुझ्न पार्टीका जिल्ला नेताहरूसहित प्रहरी कार्यालय पुगेका व्यक्तिलाई फरार भनेर अतिरञ्जित ढङ्गले सार्वजनिक गरिनु गलत हो,” क्षेत्रीय सचिव खतिवडाले भने, “गिरीमाथि लागेको आरोपको निष्पक्ष र न्यायिक छानबिन हुनैपर्छ, तर यो घटना परिस्थिति कुन विन्दुबाट सिर्जना भयो भन्ने मूल कारणको पनि खोजी हुनुपर्छ।”

गाउँपालिका अध्यक्ष खतिवडा र तरुण दलका क्षेत्रीय सभापति गिरीबीच द्वन्द्व बढ्नुको मुख्य कारक सिद्धलेक वडा नम्बर ७ मा सञ्चालित बालुवा खानी नै रहेको क्षेत्रीय सचिव खतिवडाले दाबी गरेका छन्।

अध्यक्ष खतिवडा र आरोपित गिरी दुवै जना सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का बासिन्दा हुन्। विगतमा उनीहरूबीच राम्रो सम्बन्ध रहे पनि पछिल्लो समय बालुवा खानी र व्यावसायिक विषयलाई लिएर सम्बन्ध बिग्रँदै गएको थियो।

गिरीले बालुवा प्रशोधनका लागि फिरफिरे चलाउन खोज्दा ‘अवैध’ देख्ने प्रहरी–प्रशासनले पालिकाका अन्य व्यक्तिहरूको लगानीमा रहेका उद्योगबारे पनि निष्पक्ष छानबिन गर्नुपर्ने खतिवडाको माग छ। उनले गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र सिद्धलेकका पार्टी सभापति रामशरण गिरीलगायतका व्यक्तिहरूको नाम जोडिएका बालुवा प्रशोधन उद्योगहरूको यथार्थ छानबिन हुनुपर्ने बताएका छन्।

“सिद्धलेक गाउँपालिकाभित्र सञ्चालन भइरहेका बालुवा खानीसम्बन्धी व्यवसायहरू सबै एकै प्रकृतिका हुन्। तर शक्तिको आड र पदमा भएकै कारण कसैको वैध हुने र अरूले गर्दा अवैध हुने भाष्य निर्माण गर्न खोजिएको छ,” खतिवडाले थपे, “शक्तिको दुरुपयोग गरेर कसैलाई पनि व्यावसायिक रूपमा समस्यामा पार्ने काम कसैबाट हुनु हुँदैन।”

प्रहरी नियन्त्रणमा पर्नुअघि गिरीले धादिङ न्यूजसँगको कुराकानीमा आफूले ‘विशाल एण्ड भवानी सेन्ड वास प्रालि’ विधिवत् रूपमा दर्ता गरी सिद्धलेक–७ पिपलटारमा बालुवा प्रशोधन गर्ने उद्योग सञ्चालनको तयारी गरेको बताएका थिए। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पृथ्वी राजमार्गको मलेखु–नौबिसे सडक खण्ड स्तरोन्नतिको काम गरिरहेको सगुन कन्स्ट्रक्सनलाई आवश्यक निर्माण सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिए पनि अध्यक्ष खतिवडाले शक्ति र पहुँचको दुरुपयोग गरी प्रहरी तथा विद्युत प्राधिकरणमार्फत निरन्तर अवरोध पुर्‍याएको गिरीको आरोप थियो।

विद्युत जडानका क्रममा आफूसँग १ लाख ६ हजार रुपैयाँ धरौटी र प्रति युनिट १९ रुपैयाँ महसुल तोकेर कडाइ गरिएको, तर अन्यत्र बिनाधरौटी सहजै लाइन दिइएको भन्दै आफूमाथि विभेदपूर्ण व्यवहार भएको गिरीको दाबी थियो। आफ्नै पार्टीका जनप्रतिनिधिबाट निरन्तर पेलानमा परेपछि माथिल्लो तहसम्म गुनासो पुर्‍याए पनि सुनुवाइ नभएपछि चरम निराशा र आक्रोशको स्थितिमा पुगेर हातपात गर्न बाध्य भएको उनले स्वीकारेका थिए।

यसैबीच, क्षेत्रीय सचिव खतिवडाका अनुसार गत वर्ष भदौ १३ गते राति ८ बजे सिद्धलेक–१ कालिदहमा घेराबन्दी गरेर आक्रमण हुँदा पार्टीले तत्काल विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गर्दा अध्यक्ष खतिवडा स्वयंले सो घटना गुपचुप राखेका थिए। तर, अहिले पार्टीको आन्तरिक बैठकमा भएको विवादलाई भने पार्टीकै केही नेताहरू लागेर समाधान हुन नदिई बढावा दिइरहेको उनको भनाइ छ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक नोटमा सार्वजनिक स्थानमा कुटपिट गरिएको उल्लेख भए पनि कांग्रेसका स्थानीय नेताहरूले भने बुङचुङस्थित पार्टी कार्यालयभित्र करिब ३०–३२ जनाको उपस्थितिमा बैठक चलिरहेकै बेला हातपात भएको बताएका छन्। हातपात हुनु गलत कार्य भए पनि परिस्थिति त्यो विन्दुसम्म किन पुग्यो भन्ने विषयमा पार्टी नेतृत्वले गम्भीरताका साथ सोच्नुपर्ने स्थानीय नेताहरूको सुझाव छ।