पाँच बैंकिङ कसुर मुद्दाका फरार धादिङ ज्वालामुखीका अन्जन भट्ट काठमाडौंबाट पक्राउ

66 पटक पढिएको

१७ श्रावण २०८३, आईतवार १३:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त धादिङका अन्जन भट्टलाई प्रहरीले पक्राउ गरेको छ। धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ घर भएका ३३ वर्षीय भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ बाट नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा गरी कुल पाँच वटा बैंकिङ कसुरका उजुरी परेका थिए। उनी लामो समयदेखि प्रहरीको सूचीमा फरार रहँदै आएका थिए।

अनुसन्धानका क्रममा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा सबैभन्दा बढी ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको उजुरी दर्ता रहेको पाइएको छ।

यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार, प्रहरी वृत्त कालिमाटीमा १ लाख ८० हजार र जिल्ला प्रहरी परिसर काठमाडौंमा १ लाख ४८ हजार रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा दर्ता भई उनी फरार रहँदै आएका थिए। पक्राउ परेका भट्टमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।