रुबीभ्यालीका जलविद्युत् आयोजना: संस्थागत सामाजिक उत्तरदायित्व पारदर्शी बनाउन सरोकारवालाको जोड

101 पटक पढिएको

१८ श्रावण २०८३, सोमबार ०७:१७ सम्पादक: धादिङ न्यूज

धादिङ। उत्तरी धादिङको दुर्गम रुबीभ्याली गाउँपालिका क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजनाहरूले स्थानीयको आवश्यकतालाई प्राथमिकता दिँदै आफ्ना गतिविधिहरू पारदर्शी ढङ्गले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। स्थानीय बासिन्दाको प्रत्यक्ष अपनत्व रहने र उनीहरूलाई लाभ पुग्ने गरी विकास निर्माणका आयोजनाहरू अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ।

धादिङबेसीमा आयोजित एक विशेष छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले जलविद्युत् प्रवर्द्धकहरूलाई कानुनबमोजिम सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू पारदर्शी र प्रभावकारी बनाउन आग्रह गरे। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा रुबीभ्याली क्षेत्रमा विद्युत् उत्पादनको लक्ष्यसहित दर्ता भएका १२ वटा आयोजनाहरूमध्ये ५ वटाका प्रतिनिधिहरूको मात्र सहभागिता रहेको थियो।

प्रचलित कानुनी प्रावधानअनुसार जलविद्युत् आयोजनाहरूले कुल लागतको शून्य दशमलव ७५ प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय विकासका क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ। सोही दायित्वअन्तर्गत गाउँपालिका र सम्बन्धित वडाहरूको मागबमोजिम विद्यालयलाई सहयोग, सडक निर्माण तथा मर्मत, हेलिप्याड निर्माण र अन्य रचनात्मक सामाजिक क्रियाकलापमा बजेट विनियोजन गर्दै आएको आयोजनाका प्रतिनिधिहरूले जानकारी दिए।

तथापि, स्थानीय बासिन्दा मिम्बा तामाङका अनुसार आयोजनाहरूले गर्ने सामाजिक उत्तरदायित्वको खर्च पूर्ण रूपमा पारदर्शी हुनुपर्ने र त्यो बजेट स्थानीयको वास्तविक आवश्यकतामा आधारित योजनाहरूमा मात्र लगाउनुपर्ने स्थानीयको माग छ। यसबाहेक जग्गा प्राप्तिका क्रममा दिइने मुआब्जामा एकरूपता हुनुपर्ने, वातावरणीय सन्तुलन कायम राख्नुपर्ने, तातोपानी लगायतका पुरातात्त्विक तथा धार्मिक स्थलहरूको संरक्षण गरिनुपर्ने र स्थानीयले प्रयोग गर्दै आएका बाटो एवं खानेपानीका मुहानहरूलाई सहज र व्यवस्थित बनाउनुपर्ने विषयमा स्थानीयले गम्भीर ध्यानाकर्षण गराएका छन्।

अर्कातर्फ, जलविद्युत् आयोजनाका प्रतिनिधिहरूले भने पूर्वाधार विकास र सुरक्षाको चुनौती औँल्याएका छन्। सांसद बोधनारायण श्रेष्ठका अनुसार पहुँचमार्गको विस्तार, नेपाल विद्युत् प्राधिकरणको सब-स्टेशन निर्माण, जग्गा प्राप्तिमा सरकारी सहजीकरण, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति तथा सञ्चार (फोन र इन्टरनेट) सुविधा सहज बनाइदिन आयोजनाका तर्फबाट माग गरिएको छ।

छलफलका क्रममा क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरूको भौतिक प्रगतिबारे पनि समीक्षा गरिएको थियो। २५.४ मेगावाट क्षमताको गोरक्ष जलविद्युत् आयोजनाले आधाभन्दा बढी भौतिक निर्माण सम्पन्न गरिसकेको छ भने ४४ मेगावाटको अपर आँखुखोला जलविद्युत् आयोजनाले भौतिक निर्माण सुरु गरी ७ किलोमिटर सुरुङ निर्माणको काम अघि बढाएको छ। त्यसैगरी ४.२ मेगावाटको लापा खोला जलविद्युत् आयोजनाले पनि निर्माण कार्य सुरु गरिसकेको छ। २५ मेगावाटको जलशक्ति र ७ मेगावाटको रुबीभ्याली जलविद्युत् आयोजनाहरूले भने जग्गा प्राप्ति र प्रारम्भिक तयारीका कामहरू गरिरहेको जानकारी गराइएको थियो।

छलफलमा आमन्त्रण गरिएका १२ मध्ये ७ वटा जलविद्युत् आयोजनाका प्रतिनिधिहरू भने बैठकमा अनुपस्थित रहेका थिए, जसलाई उपस्थित सरोकारवालाहरूले गम्भीरताका साथ लिएका छन्।